• Wednesday 7th of October 2026

सिख पृथकतावादी नेताको हत्या आरोपमा क्यानडामा चौथो भारतीय पक्राउ


  • धनकुटा खबर
  • .

अटोवा । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा चौथो भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ । २२ वर्षीय अमरदीप सिंहलाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

हरदीप सिंह निज्जरको हत्याको अनुसन्धान गरिरहेको टोलीले यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । अनुसन्धान टोलीले भनेको छ, ‘हरदीप सिंह निज्जरको हत्याको आरोपमा अमरदीप सिंहलाई मे ११ मा पक्राउ गरिएको थियो।’

क्यानडा प्रहरीले हालै हरदीप सिंह निज्जरको हत्यामा संलग्न अन्य तीन भारतीय नागरिकलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका करण ब्रार, कमलप्रीत सिंह र करणप्रीत सिंहमाथि पनि हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै ४५ वर्षीय हरदीप सिंह निज्जरलाई मुखौटाधारी बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए । तर, भारतले यी आरोपको खण्डन गरेको थियो ।
बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖