• Tuesday 6th of October 2026

शरीरमा युरिक एसिड बढेको संकेत गर्ने ५ समस्या


  • धनकुटा खबर
  • .

डा. प्रशान्त त्रिपाठी
इन्टनरल मेडिसिन

युरिक एसिड रगतमा पाइने घुलनशील तत्व हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ ।

कुनै कारणले जब मिर्गौलाको पिसाब छान्ने र युरिक एसिड बाहिर फाल्ने क्षमतामा कमी आउँछ, तब युरिक एसिड जोर्नीमा गएर जम्मा हुन्छ र समस्या देखाउन थाल्छ ।

युरिक एसिडको समस्या महिला, वयस्क तथा वृद्धवृद्धालाई हुने गर्छ । मदिरा, रातो मासु, गेडागुडीजस्ता खानेकुरा अत्यधिक मात्रामा खाँदा युरिक एसिड बढ्ने गर्छ । यसबाहेक मोटोपन, धेरै खानु, अल्छी गर्नु, दिसा–पिसाब रोक्नु, धेरैबेर नखाई बस्नु, राति धेरै ढिला सुत्नु, धेरै तनाव वा चिन्ता गर्नु, धेरै चिसोमा खेल्नु, औषधि धेरै सेवन गर्नाले पनि युरिक एसिड बढाउँछ ।

युरिक एसिड बढ्दा शरीरमा देखिने ५ संकेत

शरीरमा कडापन हुने

पहिलो लक्षण बिहान उठ्दा शरीर अररो हुनु, जीउ जाम भएको जस्तो महसुस हुनु, शरीरको जोर्नी कडा भई चलाउन नमिल्ने समस्या देखिनु युरिक एसिड बढेको संकेत हो । यस अवस्थामा रगतमा ल्याक्टिक एसिड र अक्जालिक एसिड बढेको हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा समस्या बढेर शरीरको अंग चलाउन नसक्ने अवस्था समेत आउन सक्छ ।

हातखुट्टाको सानो औंलाको जोर्नी दुख्ने

हातखुट्टाको औंला र गोलीगाँठाका जोर्नी दुख्छ भने युरिक एसिड बढेको हुनसक्छ । किनभने रगतमा युरिक एसिडको मात्रा बढ्दै गएपछि थिग्रिएर क्रिष्टलमा परिणत हुन्छ । जुन शरीरको हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।

यस्तै थोरै हिंड्दा पनि एक्कासि खुट्टाको गोलीगाँठा दुख्नु पनि रगतमा युरिक एसिड बढेको संकेत हो । यसमा हल्का दुखाइबाट सुरु भएर एसिड बढ्दै गएपछि हिंड्न गाह्रो हुने र खुट्टाले टेक्न समेत नसक्ने हुनसक्छ ।

हातखुट्टा तातो हुने वा पोल्ने

सामान्यतया ज्वरो आउँदा, गाह्रो काम गर्दा, तातो चीज छुँदा हातखुट्टा तातो हुन्छ तर विना कारण हातखुट्टा तातो हुने, पोल्ने, जलन हुने तथा झमझम हुने समस्या छ भने पनि शरीरमा युरिक एसिड बढेको हुनसक्छ । हातखुट्टा पानीमा डुबाउँदा पनि तातो भइराख्ने हुन्छ । यो चार-पाँच दिन वा हप्ता दिनसम्म भएमा चिकित्सकलाई देखाउनुपर्छ ।

शरीरको जोर्नी सुन्निने

विना कारण जोर्नी सुन्निने समस्या देखिनु पनि युरिक एसिड बढेको संकेत हुनसक्छ । किनभने युरिक एसिड बढ्दा जोर्नीहरु सुन्निने, रातो हुने हुन्छ । यदि थोरै हिंड्दा पनि दुख्ने, बसेर उठ्न खोज्दा जोर्नी दुख्ने, उठ्न र बस्न कठिनाइ हुने, औंला सुन्निने, जोर्नीमा गाँठो आउने हुनसक्छ ।

यी समस्या देखिएको अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । नत्र रोग पुरानो हुँदै गएपछि घुँडा र हातका अरु जोर्नीहरुमा पनि असर देखिने, जोर्नीमा गाँठागुठीहरु देखिने, जोर्नी बांगिने, कुरूप हुने, मिर्गौलामा पत्थरी हुनसक्ने जोखिम हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖