कोलेस्ट्रोल बढ्दाको प्रारम्भिक चरणमा मानिसमा लक्षण देखिँदैन । तर, पछि गएर यसले ठूलै समस्या पार्न सक्छ ।
कतिपयको जीवनशैली राम्रो भए पनि कोलेस्ट्रोलको मात्रा बढिरहेको हुन्छ, यसमा भने वंशानुगत कारणले भूमिका खेलेको हुन्छ । यस्ता मानिसमा कोलेस्ट्रोल पचाउने क्षमता निकै कम हुन्छ । यस्तो समस्याले कहिलेकाहीँ एक पुस्ताको ग्याप गरेर पनि सताउन सक्छ ।
त्यसैले २० वर्ष नाघेको मानिसले कोलेस्ट्रोलको स्तर जाँच गराउँदा राम्रो हुन्छ । अझ दीर्घरोगीले जतिसक्दो चाँडो परीक्षण गराउन जरुरी हुन्छ । कोलेस्ट्रोल लक्षण लिएर आउँदैन । त्यसैले परीक्षण गर्नुपर्छ । कोलेस्ट्रोलको मात्रा धेरै बढेपछि मात्रै प्यारालाइसिस, हृदयाघात हुन सक्छ । यसको नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ ।
नियन्त्रणका उपायहरु
१.कोलेस्ट्रोल नियन्त्रण गर्न दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्ने ।
२.वनस्पतिजन्य खानेकुरामा बढी जोड दिने, मासु कम खाने ।
३.तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्ने ।
४.मदिरा सेवन नगर्ने । जसले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी, बियरले ट्राइग्लिसाइडको मात्रा बढाउँछ ।
चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । र, यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । र, यस्तो कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ । त्यसैले धूम्रपान पनि बन्द गर्नुपर्छ ।
