• Thursday 8th of October 2026

इरानमा राष्ट्रपति पदकी पहिलो महिला उम्मेदवारको चर्चा चुलियो


  • धनकुटा खबर
  • .

काठमाडौं । गत मे १९ मा इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । उनको निधनपछि मुलुकले नयाँ राष्ट्रपति चयनका लागि जून २८ मा मतदान गर्दैछ ।

इरानी सञ्चारमाध्यमका अनुसार इब्राहिम रायसीको ठाउँमा हालसम्म ४० जना उम्मेदवारले दर्ता गरेका छन् । यसमा पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद, पूर्व आईआरजीसी कमाण्डर वाहिद हागानियन, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का पूर्व सचिव सईद जलिली पनि सामेल छन्। तर, अर्को नाम पनि छ जसको चर्चा निकै भइरहेको छ ।

पूर्व राष्ट्रपति इब्राहिम रायसीको स्थानमा उम्मेदवारी दिने एकमात्र महिला उम्मेदवार पूर्व महिला सांसद जोहरेह इलाहियान (५७) हुन्। यदि उनी यस पदमा निर्वाचित भएमा इरानको इतिहासमा महिला राष्ट्रपति बन्ने यो पहिलो पटक हुनेछ ।

क्यानडाले हिजाबको कट्टर समर्थक इलाहियानमाथि प्रतिबन्ध लगाएको छ । क्यानडा सरकारले इरानविरुद्ध प्रदर्शन गर्ने महिलालाई मृत्युदण्डको सजायको समर्थन गरेको भन्दै यस वर्ष मार्चमा उनलाई प्रतिबन्ध लगाएको थियो।

इलाहियान पेशाले चिकित्सक हुन् र दुई पटक सांसद भइसकेकी छिन् । उनी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिको सदस्य समेत भइसकेकी छिन् ।

राष्ट्रपति पदका लागि दर्ता गरेपछि आफ्नो भाषणमा इलाहियानले भ्रष्टाचारविरुद्ध लड्ने वाचा गर्दै ‘सशक्त सरकार, बलियो अर्थतन्त्र र बलियो समाज’को नारा दिएकी थिइन् ।

सन् २०१८ मा युएइकी राजकुमारी लतिफा युएईबाट फ्रान्सेली साथीको सहयोगमा भागेकी थिइन् । तर, उनलाई भारतीय सीमा नजिकै पक्राउ गरी स्वदेश फर्काइयो । केही वर्षपछि युएईकी राजकुमारी लतिफाले आफूलाई बन्धक बनाएको दाबी गरिन् ।

लतिफाले आफूमाथि दुर्व्यवहार गरेको र जेलजस्तै भिलामा राखिएको बताइन् । यसमा प्रतिक्रिया दिँदै इलाहियानले लतिफालाई इरान आउन सल्लाह दिइन्। इलाहियानले उनी इरान आए इस्लामिक शासनमा स्वतन्त्र रूपमा बाँच्ने अधिकार पाउने बताएकी थिइन् ।

इरानी मिडियाका अनुसार इलाहियनको उम्मेदवारी खारेज हुने खतरा छ । वास्तवमा इरानको संविधानमा महिला राष्ट्रपति बन्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा स्पष्ट छैन । यो एक विवादास्पद धारा ‘गार्डियन काउन्सिल’ को व्याख्या मा निर्भर गर्दछ।

‘गार्डियन काउन्सिल’ संविधानका धाराहरूको व्याख्या गर्ने उच्च अधिकारीहरूको समूह हो। यस परिषद्ले इतिहासमा धेरै पटक महत्वपूर्ण पदमा महिला उम्मेदवार नियुक्तिलाई गैरकानूनी घोषणा गरेको छ ।

इरानको संविधानको धारा ११५ ले राष्ट्रपति पदका उम्मेदवारहरू राजनीतिक वा धार्मिक ‘रिजाल’ हुनुपर्छ भनी व्यवस्था गरेको छ। ‘रिजाल’ अरबी शब्द हो जसको अर्थ ‘पुरूष’ हो। तर, कतिपय संवैधानिक विज्ञहरूले यहाँ ‘रिजाल’ भन्नाले कुनै पनि लिंग नभएको बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖