• Thursday 8th of October 2026

के अन्तर्राष्ट्रिय विद्यार्थी संख्या कटौती गर्दैछ अष्ट्रेलिया?


  • धनकुटा खबर
  • .

एजेन्सी—अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ।

बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए।
उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने बताए।

‘अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले राष्ट्रिय स्तरमा दुई लाख ५० हजार रोजगारीलाई समर्थन गर्दछ। शिक्षामा मात्र नभई खुद्रा, पर्यटन र आवासजस्ता क्षेत्रहरूमा पनि रोजगारीका अवसरहरू छन्,’ उनले भने।
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या गत फेब्रुअरीमा सात लाख नाघेपछि मे महिनामा सत्तारुढ लेबर पार्टीले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्ने योजना घोषणा गरेको थियो।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा उद्योग सन् २०२३ मा ४७.८ अर्ब अष्ट्रेलियाली डलरको रेकर्ड थियो, सन् २०२२ मा २६.६ अर्बबाट ७९.६ प्रतिशतभन्दा माथि पुगेको थियो।

अष्ट्रेलियाका चार ठूला बैङ्कहरूमध्ये एक नेसनल अष्ट्रेलिया बैंक (एनएबी) का अर्थशास्त्रीहरूले मार्चमा जारी गरेको विश्लेषणले सन् २०२३ मा अष्ट्रेलियाको आर्थिक वृद्धिको आधाभन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीहरूको खर्च रहेको खुलासा गरेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीको शीघ्र फिर्ती नभएको भए राष्ट्र खतरनाक रूपमा मन्दीको नजिक झर्ने उहाँले बुधबार बताए।

सरकारको प्रस्तावित कानुन अन्तर्गत शिक्षा मन्त्रीलाई पाठ्यक्रम र शिक्षा प्रदायकका लागि नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा सीमा निर्धारण गर्ने अधिकार दिइनेछ।

अष्ट्रेलियामा हुने शुद्ध वार्षिक आप्रवासन सन् २०२२–२३ मा उच्च पाँच लाख २८ हजार बाट सन् २०२४–२५ मा दुई लाख ६० हजार बनाउने सरकारको व्यापक योजना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖