• Thursday 8th of October 2026

यसरी खिचिएको थियो ट्रम्पलाई गोली लागेको फोटो


  • धनकुटा खबर
  • .

अमेरिकाको राष्ट्रपति दौडमा रहेका डोनाल्ड ट्रम्पलाई शनिबार साँझ गोली हानी हत्याको प्रयास भयो।

पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीमा सम्बोधन गरिरहेका ट्रम्पमाथि प्रहार भएको गोलीले उनको दायाँ कानमा मात्रै छोयो र उनी सकुशल छन्।

ट्रम्पको कान छोएर गएको गोली त्यहाँ उपस्थित समर्थकमध्येका एक जनालाई लाग्न पुग्दा उनको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

ट्रम्पमाथि गोली प्रहारको घटनालाई लिएर त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठेको छ।

ट्रम्पको कार्यक्रमस्थलबाट ४ सय फिट उत्तरतर्फको एकतले घरको छतबाट गोली चलेको थियो। ट्रम्पको सुरक्षामा हतियारसहित खटिएका सुरक्षाकर्मीले तत्काल गोली चलाउँदा अभियुक्तको घटनास्थलमै मृत्यु भएको छ।
गोली चलाउने ती व्यक्ति पेन्सिलभेनियाकै २० वर्षीय थोमस म्याथ्यु क्रुक रहेको एफबिआईले खुलाएको छ। मतदाता नामावलीबाट उनी रिपब्लिकन समर्थक भएको पनि खुलेको छ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ का फोटो पत्रकार डोग मिल्सले ट्रम्पलाई गोली लाग्दै गरेको फोटो खिचेका छन्।

मिल्सले उक्त फोटो खिच्न प्रतिसेकेन्डमा ३० वटा फ्रेम खिच्ने सोनी क्यामेरा प्रयोग गरेका थिए। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उनले ती फोटोहरू १/८००० सेकेन्ड सटर स्पिडमा खिचेका थिए।
त्यसले ट्रम्प नजिकबाट गुज्रेको गोलीले हावालाई चिरेर जुन बाटो बनायो, त्यसलाई समेत खिच्ने क्षमता राखेको हो।

अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) मा २० वर्ष काम गरेका माइकल ह्यारिगनले उक्त फोटो विश्लेषण गर्दै भनेका छन्, ‘एंगल अलि कम भएको देखियो। यद्यपि लगातार गोली चलाइएको अवस्थामा यस्तो फोटो असम्भव हुँदैन।’

गणितीय रूपमा पनि मिल्सले खिचेजस्तो तस्बिर खिच्न असम्भव नभएको उनले बताए।

क्रुक मारिएको स्थानबाट सुरक्षाकर्मीले एआर-१५ अर्धस्वचालित राइफल बरामद गरेको थियो। ह्यारिगनले उक्त राइफलबाट निस्कने गोली खिच्न सकिने पनि बताएका छन्।

‘त्यही हतियार प्रयोग भएको हो भने त्यसमा लाग्ने २२३ क्यालिबर तथा ५.५६ मिलिमिटरको गोलीको गति ३ हजार २०० प्रतिसेकेन्ड हुन्छ। सटर स्पिड १/८००० भएको क्यामराले ४/१० प्रतिफिटमा तस्बिर खिच्न सक्छ,’ उनले भने।

मिल्सले खिचेको उक्त तस्बिर करौडौंमा एक रहेको पनि उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖