• Tuesday 6th of October 2026

रौतहटमा झडप हुँदा १९ सुरक्षाकर्मी घाइते


  • धनकुटा खबर
  • .

रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।

केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए। सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन्।

दाहा मनाउने क्रममा करिब पाँच हजारभन्दा बढी मुस्लिम समुदायका मानिसको उपस्थिति थियो। स्थिति नियन्त्रणमा लिन १२० प्रहरी टोली खटिएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए। त्तपश्चात् स्थितिलाई नियन्त्रण आएकाे प्रहरीले जनाएकाे छ।

बिहीबार साँझ साढे छ बजेदेखि करिब आठ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रह्यो।

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए। ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

केही सुरक्षाकर्मीको आँखा तल घाउ लागेको र अन्यलाई सामान्य चोट लागेको प्रहरीको भनाइ छ। घाइते सबै प्रहरीको सामान्य उपचारपछि कार्यालय पठाइएको छ। प्रहरीका अनुसार हाल स्थिति सामान्य रहेको छ।-मदन ठाकुर/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖