• Saturday 28th of November 2026

ऋणमा डुबेका मजदुरले ८० लाखको हिरा भेटेपछि…


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको मध्य प्रदेशका एक मजदुर रातारात धनी बनेका छन् । पन्ना जिल्लाको भाडामा लिएको खानीमा राजु गोन्डले ठूलो मूल्यको हिरा भेटेका छन् ।

१९.२२ क्यारेटको उक्त हिरा सरकारी लिलामीमा करिब ८० लाख रूपैयाँमा बिक्री भएको छ । राजु गोण्ड विगत दश वर्षदेखि पन्नामा खानी भाडामा लिएर हिरा खोज्ने काम गर्थे ।

पन्ना हिराका लागि प्रसिद्ध छ । यहाँ धेरैले सरकारबाट खानी भाडामा लिएर हिरा खोज्ने प्रयास गर्छन् । केन्द्रीय सरकारले राष्ट्रिय खनिज विकास निगम (एनएमडीसी)मार्फत् पन्नामा एक यान्त्रिक हिरा खानी परियोजना सञ्चालन गर्दछ ।

एनएमडीसीले खानीहरू व्यक्ति, परिवार र सहकारी समूहहरूलाई भाडामा दिन्छ । स्थानीयहरू साना औजारहरू प्रयोग गरेर हिरा खोज्ने प्रयास गर्छन् । उनीहरूले हिरा भेटे भने त्यो सरकारी हिरा कार्यालयमा जम्मा गर्नुपर्छ । त्यसपछि कार्यालयले हिराको मूल्याङ्कन गर्छ ।

खानी भाडामा उपलब्ध
मध्य प्रदेश सरकारका एक अधिकारी अनुपम सिंहले बीबीसीलाई भने, ‘यी खानीहरू दुई सयदेखि २५० रूपैयाँमा निश्चित अवधिका लागि भाडामा दिइन्छ ।’

सन् २०१८ मा बुन्देलखण्डका एक मजदुरले पन्नामा नै १.५ करोडको हिरा फेला पारेका थिए । तर, यस्ता महँगो हिरा भेटिने घटना सामान्य होइनन् ।

सिंह भन्छन्, ‘धेरैले दिनहुँ साना साना हिरा प्राप्त गरिरहन्छन् तर, गोन्डले फेला पारेको हिरा आकारका कारण जिज्ञासाको विषय बनेको थियो ।’

गोन्ड बीबीसीलाई बताउँछन्, ‘बुवाले दुई महिनाअघि पन्ना नजिकैको कृष्ण कल्याणपुर पट्टी गाउँमा खानी भाडामा लिनुभएको थियो ।’ वर्षायाममा खेतमा काम नहुने भएकाले आफ्नो परिवारले पन्नामा खानी भाडामा लिएर हिरा खोज्ने काम गर्ने राजुले बताए ।

उनले भने, ‘हामी गरिब हौँ, आम्दानीको अर्को कुनै स्रोत छैन त्यसैले केही कमाउने आशामा गर्छौँ ।’ राजुले अनमोल हिरा भेटिएको धेरै कथा सुनेका थिए । एकदिन आफूले पनि बहुमूल्य हिरा पाउने आशा उनमा थियो ।

बुधबार बिहान राजु सदाझैँ काम गर्न भाडा खानीमा पुगेका थिए । राजु भन्छन्, ‘हामीले खाडल खन्यौं, माटो र ढुङ्गा निकाल्न थाल्यौं । छलनीमा धुने र साना ढुङ्गाहरूमा ध्यान दिएर हिरा खोजिरहेका थियौं ।’

उनको कडा मेहनत बुधबार दिउँसो सार्थक भयो । उनी भन्छन्, ‘म ढुङ्गा धोइरहेकी थिएँ । तब अचानक काँचजस्तो देखिने एउटा टुक्रा देखेँ । मैले त्यसलाई उठाएँ र आफ्नो आँखा नजिक ल्याएर हेरेँ । मन्द उज्यालो देखेँ । त्यसपछि मैले हिरा फेला पारेको महसुस गरें ।’

त्यसपछि राजुले फेला परेको हिरा सरकारी हिराको कार्यालयमा लगे । त्यहाँ हिराको तौल र मूल्याङ्कन गरियो ।

अनुपम सिंहले आगामी सरकारी लिलामीमा उक्त हिराको बोली लागेको बताए । उनले हिराको सरकारी रोयल्टी र कर काटेर बाँकी रकम राजुलाई दिने बताए ।

राजु हिरा बेचेर कमाएको पैसा आफ्नो परिवारको लागि राम्रो घर र छोराछोरीलाई राम्रो शिक्षा दिन प्रयोग गर्न चाहन्छन् । तर, सबैभन्दा पहिले उसले ऋण लिएको पाँच लाख रूपैयाँ फिर्ता गर्न चाहन्छन् ।

राजुले आफूले पाएको ठूलो रकमको बारेमा संसारले थाहा पाउनेछ भन्ने डर छैन । प्राप्त रकम आफूसँगै बस्ने १९ जनालाई बाँड्नेछन् । अहिलेको लागि उनी आफ्नो खातामा ठूलो रकम आउने तथ्यमा सन्तुष्ट छन् ।

अन्तमा राजु भन्छन्, ‘भोलि म फेरि त्यही खानीमा काम गर्न जान्छु, अनि हिरा खोज्न थाल्छु ।’ बीबीसी हिन्दी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖