बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमानले मंगलबार आन्दोलनरत विद्यार्थीका नेताहरूसँग छलफल गर्दैछन्।
प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।
१५ वर्षसम्म सत्ता चलाएकी हसिनाले राजीनामा दिएसँगै हिंसात्मक प्रदर्शनहरू रोकिएका छन्।
मंगलबारदेखि नै त्यहाँका विद्यालयहरू खुलेका छन्। तर विद्यार्थीको संख्या शून्य रहेको विभिन्न समाचार संस्थाहरूले लेखेका छन्।
त्यहाँका गार्मेन्ट उद्योगहरू पनि बन्द नै छन्। कहिलेदेखि सञ्चालनमा ल्याउने भन्नेबारे मंगलबार निर्णय गर्ने तयारी छ।
आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरूले मंगलबार फेसबुकमार्फत एउटा भिडिओसमेत सार्वजनिक गरेका छन्। उनीहरूले सेना नेतृत्वको सरकार नस्वीकार्ने बताएका छन्।
उनीहरूले अन्तरिम सरकार बनाउँदा बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई सहभागी गराउन माग गरेको बिबिसीको समाचारमा उल्लेख छ।
