• Thursday 8th of October 2026

भारतसंग शेख हसिना र रेहानालाई पक्राउ गरी बङ्गलादेश फर्काउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन् ।

एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे । उनले आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरे ।

बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान् सरकारको अतिवादी रवैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बनेकी थिइन् ।

यसैबिच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖