• Friday 9th of October 2026

गलत गेटमा लाइन लागेका कारण १० जनाले छुटाएका थिए ब्राजिलमा दुर्घटना भएको जहाज


  • धनकुटा खबर
  • .

ब्राजिलमा जहाज दुर्घटना हुँदा कम्तिमा ६१ जनाको मृत्यु भएको छ।
पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको एटीआर-७२ जहाज शुक्रबार स्थानीय समयअनुसार साढे १ बजे दुर्घटना भएको हो।

साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा विमान खसेको थियो।

दुर्घटनाबाट त्यसमा सवार ५७ यात्रु र चालक दलका चार सदस्य सबैको मृत्यु भएको छ। मृत्यु हुने सबै ब्राजिलकै नागरिक रहेको बताइएको छ।
दुर्घटना भएको जहाज केही यात्रुले छुटाएको पाइएको छ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार गलत गेटमा लाइन लाग्दा ती यात्रुहरूले जहाज छुटाएका थिए।
उडान छुटाएका एक व्यक्तिसँग ब्राजिलियन मिडिया ग्लोबोले कुराकानी गरेको छ। ती व्यक्तिले आफूसँगै १० जना यात्रु गलत गेटमा लाइन बस्दा जहाज छुटेको बताएका छन्।

बोर्डिङ पास लिएर जहाज चढ्ने ठाउँमा फरक फरक जहाजका लागि छुट्टा छुट्टै लाइन हुन्छ। उनीहरू भने अर्कै लाइनमा बस्न पुगेका थिए। विमानस्थलका कर्मचारीहरूले उनीहरूको बोर्डिङ पासअनुसारको जहाज चढ्नका लागि यो लाइन होइन भनेर सही गेटतर्फ पठाइदिएका थिए।

सही गेटमा पुग्दा ढिला भइसकेकाले त्यहाँका कर्मचारीहरुले दसै जनालाई जहाज चढ्न नदिएको ती व्यक्तिले बताएका छन्।

‘मैले उनीहरूलाई धेरै अनुनय समेत गरेको थिए। हामीले बोर्डिङ पास लिएदेखि सबै प्रक्रिया पूरा गरिसकेका छौं, हामी जानैपर्नेछ। हामीलाई जान दिनुस् भनेका थियौं,’ ग्लोबोलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
तर जति नै जोडबल र अनुनय गर्दा पनि जहाज चढन् नदिइएको उनले बताए।

‘अब कुनै उपाय छैन। तपाईंलाई पुनः टिकट बुक गर्न सल्लाह दिनेबाहेक अरू केही पनि गर्न सक्दिनँ भन्ने जवाफ दिनुभयो,’ ग्लोबोसँग ती व्यक्तिले भने।
पछि त्यही जहाज दुर्घटना भएको सुन्दा आफूलाई भाग्यमानी ठानेको ती व्यक्तिले बताएका छन्।

‘म कस्तो महशुस गरिरहेको छु भन्नेबारे भगवानलाई मात्रै थाहा छ। मेरा हातखुट्टादेखि पूरै जिउ काँपीरहेको छ। धन्न हामी त्यो विमानमा चढेनछौं र जोगियौं। भगवानलाई धन्यवाद,’ ती व्यक्तिले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖