काठमाडौँ । ‘दुर्गेश जति बिग्रिनु बिग्रियो, अब सुध्रियो,’ केही दिन अगाडि एक कार्यक्रममा गायक दुर्गेश थापाले भनेका थिए । ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्दै उनले आफू सुध्रिएको दाबी गरे ।
तिजलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो गीतको शब्द, तथा भिडियोमा दुर्गेशका विगतका गल्ती (द्विअर्थी शब्द र अश्लिल भिडियो) दोहोरिएको छैन । कति कन्ट्रोभर्सी गरेर चर्चामा रहनु, अब त सकारात्मक सन्देश दिनुपर्छ भनेर यो गीत ल्याएको हुँ,’ दुर्गेशले ‘झुम्का हरायो’ गीत ल्याउनुको उद्देश्य प्रस्ट पार्दै भनेका थिए ।
‘आफ्नो गीत परिवारका सदस्यसँग बसेर हेर्न मिल्दैन भने त्यस्तो सिर्जना गर्नु उचित रहेनछ’, उनले भने, ‘म सुध्रिनुमा विवाह, बच्चा र पारिवारिक वातावरणको हात छ ।’
पहिले अल्लारे र अविवाहित भएकाले पनि गल्ती दोहोरिएको उनले बताए । ‘झुम्का हरायो’मा दुर्गेशकै शब्द र सङ्गीत छ । स्वर भने पशुपति शर्मा र शान्तीश्री परियारको छ ।
गीतको भिडियो दुर्गेशले नै निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेशले अभिनेत्री प्रियंका कार्कीसँग र मोडल तथा तिब्बती गायक पेमा लामाले अभिनेत्री गरिमा शर्मासँग कम्मर मर्काएका छन् ।
विगतमा दुर्गेशको तिज गीत आउँदा विवाद निम्तिन्थ्यो, नकारात्मक टिप्पणी र आलोचना थुप्रै हुन्थ्यो । यो पटक त्यस्तो केही नहुँदा चर्चा भएन कि भन्ने लाग्न सक्छ । तर उनको गीतको चर्चा र भ्यूज राम्रो छ । कतिपयले त दुर्गेशले पनि राम्रो गीत बनाउँदो रहेछ भनेर आश्चर्य प्रकट गर्दै प्रशंसा गरेका छन् ।
‘राम्रो गीत बनाएपछि आफैँ चल्दोरहेछ । यसले आत्मबल बढायो’, उनले भने, ‘नराम्रोभन्दा राम्रो कारणले चर्चा आउनु ठुलो उपलब्धि रहेछ ।’
आफूले राम्रो सिर्जना चल्छ कि चल्दैन भनेर जान्नका लागि गरेको प्रयोग सफल भएको दुर्गेशले सुनाए । उनले भने, ‘बिच्च बिच्चमा–७ ल्याउने तरखरमा रहेकाले मैले यो गीतमा स्वर नदिएको हो । नत्र म आफैँ दिन्थेँ ।’
दुर्गेश परिवर्तन भयो भन्दा धेरैले शङ्का गर्न सक्छन् । उनी भने अब बिग्रिएर के गर्नुछ र भन्छन् । ‘बिग्रिएर जेल, नेल भोगियो । अब बाँकी के छ र ?’, उनले भने, ‘वर्षमा ५ गीत नचलोस्, केही छैन । अब राम्रो गीतमात्र गर्छु ।’
राम्रो गीत एउटा चल्दा केही वर्ष गायकलाई पुग्ने उनको बुझाइ छ ।
