• Wednesday 7th of October 2026

मयूरको मासु खाएको भिडियो बनाउने युट्युबर पक्राउ


  • धनकुटा खबर
  • .

नयाँदिल्ली । देशको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।

उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएपछि पक्राउ गरी जेल पठाइएको प्रहरीले बताएको छ । भारतमा रङ्गीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् । दक्षिणी राज्य तेलङ्गानाका प्रहरी उपरीक्षक अखिल महाजनले भने, “उनी अहिले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत १४ दिनको हिरासतमा छन् र उनी जेलमा रहने वा जमानत पाउँछन् भन्ने अदालतले फैसला गर्नेछ ।”

कुमारले भिडियोका लागि कसरी र कहाँबाट मयूर प्राप्त गर्न सफल भए भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् । उक्त भिडियो पछि हटाइएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भिडियोमा उनले मयुरको मासु पकाइरहेको र यो ‘कथित रूपमा धेरै दर्शक आकर्षित गर्नका लागि स्टन्ट गरिएको थियो ।’ “यद्यपि प्रतिक्रिया उनको अपेक्षाभन्दा धेरै टाढा थियो”, अखबारले भनेको छ, “सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडियोको निन्दा गर्दै कुमारमाथि अवैध वन्यजन्तुको उपभोगलाई बढावा दिएको र राष्ट्रिय प्रतीकको अनादर गरेको आरोप लगाएका छन् ।”

भालेमा आफ्नो चम्किलो नीलो रङ र शानदार प्वाँखले चिनिने भारतीय मयूरले भारतमा विशेष प्रतीकात्मक महत्त्व राख्दछ ।रत्नजडित मयूर चित्रण गरिएकाले भारतको मुगल शासक वंशको सिंहासनलाई मयूर सिंहासन पनि भनिन्थ्यो । मयूर कुनै समय उत्तरी भारतीय मैदानहरूमा ठूलो सङ्ख्यामा रहेका थिए ।

पछिल्ला केही दशकमा तीव्र सहरीकरण र बासस्थानको क्षतिले जङ्गलमा मयूरको सङख्या धेरै घटेको छ । वन्यजन्तु कानूनहरूअन्तर्गत कडा सजाय र जरिवानाको साथमा यिनीहरूलाई शिकार वा हानि हुनबाट जोगाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖