• Friday 9th of October 2026

भर्जिनियाबाट बेपत्ता ममताका श्रीमानलाई के आरोपमा पक्राउ गरियो ? ममता कहाँ छिन् ?


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाको भर्जिनियाबाट तीन हप्ताभन्दा बढी समयदेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली महिला ममता काफ्ले भट्टका पतिलाई उनी बेपत्ता भएको सम्बन्धमा शव लुकाएको अभियोग लगाइएको प्रहरीले जनाएको छ।

अमेरिकी मिडिया सीएनएन सम्बद्ध डब्लुजेएलएको भिडियोअनुसार बिहीबार बिहान दम्पतीको घर बाहिर उनका पति नरेश भट्टलाई हातकडी लगाएर लगिएको थियो।

मनासास पार्क पुलिसका अनुसार पतिले शव लुकाएको आरोपमा आपराधिक आरोपको सामना गर्नु पर्नेछ। श्रीमतीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन र उनी बेपत्ता भएको विषयमा अनुसन्धान जारी छ।

भिडियोमा देखिएअनुसार पहेँलो ब्ल्यांकेटमा एउटा शिशुलाई पनि घरबाट बाहिर निकालिएको थियो । उनी ममताकी १ वर्षकी छोरी भएको समाचारमा जनाइएको छ। प्रहरीले छोरीलाई समाज सेवा विभागद्वारा अनुमोदित हेरचाहकर्ताले हेरचाह गरिरहेको बताएको छ।

अनुसन्धानकर्ताहरूले बुधबार दम्पतीको घरको खोजी गरेका थिए। यद्यपि प्रहरीले कुन प्रमाणका आधारमा नरेश भट्टको गिरफ्तारी भएको हो भन्ने विषयमा जानकारी सार्वजनिक गरेको छैन। नरेश भट्टले यसअघि प्रहरीलाई बताएअनुसार उनले आफ्नी श्रीमतीलाई अन्तिम पटक तीन हप्ताअघि डिनर टेबलमा देखेका थिए।

प्रहरीले उनको यो बयानमा शंका गरेको छ। किनभने उनले त्यसयता अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न छाडेका थिए । पुलिसका अनुसार ममतालाई अन्तिम पटक जुलाई २७ मा मनासासको युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। भोलिपल्ट उनले एक साथीसँग कुरा गरिन् र ३१ जुलाईमा उनलाई अन्तिम पटक उनका पतिले देखेका थिए।

अगस्ट २ मा प्रहरीले दम्पतीको घरमा जाँच गऱ्यो र उनका पतिसँग कुरा गऱ्यो । त्यतिबेला उनले थप जानकारी दिए र अनुसन्धानकर्ताहरूलाई आफूले त्यस समयमा श्रीमती बेपत्ता भएको रिपोर्ट गर्न नचाहेको बताएका थिए । यसको तीन दिन पछि उनले ममताको बेपत्ता भएको रिपोर्ट गरेका थिए।

गत हप्ता डब्ल्युयुएएसएसँगको एक अन्तर्वार्तामा भट्टले आफ्नी श्रीमतीको विषयमा आफू चिन्तित रहेको र उनी बेपत्ता भएको यो पहिलो पटक नभएको बताए। ‘यसअघि तीनपटक बेपत्ता भए पनि उनी यति लामो समयसम्म कहिल्यै हराएकी थिइनन्’, भट्टले भने। अदालतको रेकर्डअनुसार पतिलाई शुक्रबार बिहान औपचारिक रूपमा हिरासतमा राखी अदालत पेश गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖