• Saturday 28th of November 2026

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । देशभर कायम रहेको मनसुनी वायुको प्रभावले अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास नै छ भने पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा (नेपाल) तर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ।

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖