काठमाडौं । गत भदौ ६ गते बिहान नेपालभर एउटा समाचार भाइरल भएको थियो । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापुरमा भैँसीको आक्रमणमा परी बाघ मरेको अविश्वसनीय तर सत्य खबर चारैतिर फैलियो ।
गोठमा बाँधिराखेको भैँसीले बाघलाई मार्न सक्छ र भन्ने विषयमा बहसहरु भए । बाघको पोष्टमार्टमबाट भैँसीले हानेर मारेको प्रमाणित भयो, तर बाघ पहिले नै घाइते रहेको भनियो । बाँधिराखेको भैँसीले बाघलाई मारेको हो । अझै बाघले भैँसीलाई गम्भीर घाइते पनि बनाएको थियो र प्रतिकारमा बाघ मारिन पुग्यो ।
बाघको आक्रमणमा परेको भैँसी पनि करिबकरिब मृत्युबाट बचेको देखिएको छ । भैँसीको गर्दनमा बाघले ६ वटा गहिरो प्वाल पारेको देखिएको छ ।
बाख्रा मार्ने प्रयास असफलपछि भैँसीमाथि आक्रमण
भदौ ६ गते बिहान करिब २ बजेको समयमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ८ वर्षको बाघ प्रतापुर छिरेको थियो । करिब एक हप्ताको भोको बाघ आहाराको खोजीमा मानव वस्ती पसेर स्थानीय बलबहादुर राईको घर आइपुगेको थियो ।
उनका अनुसार बाघ त्यसपछि बाख्रा खोरभन्दा २० मिटर पर रहेको भैँसीको गोठ पुगेको थियो । गोठमा एउटामात्रै भैँसी रहेको र उक्त स्थान साँघुरो भएको कारण बाघले पछाडिबाट भैँसीको घाटीमाथिको भागमा आक्रमण गरेको घाउको प्रकृति हेर्दा देखिन्छ, तर वयस्क भैँसीको प्रतिकारपछि बाघको ज्यान गएको घटनास्थल हेर्दा देखिन्छ ।
बाघलाई अगाडिबाट आक्रमण गर्न ठाउँ साँघुरो भएकोले घाँटी माथिको भागलाई निशाना बनाएको हुन सक्ने राई बताउँछन् ।
बाघलाई मारेपछि भैँसी ठूलो स्वरले कराएपछि आफू व्युँझिएको घरधनी राईको भनाइ छ । प्रतापपुर क्षेत्रमा यसअघि पनि बाघ, भालु, हात्ती आतंक रहेको कारण आफू एक्लै खोरमा जान डराएर ५(६ जना छिमेकी जम्मा पारेर गोठमा गएको उनले बताए ।
गोठमा जाँदा भैँसीको गर्धनबाट रगत बगिरहेको र सँगै बाघ सुतिरहेको जस्तो देखेको राई बताउँछन् ।
‘सुरुमा हामीले बाघ जिउँदो नै रहेको र भैँसीको खुट्टा टोकेको हो कि भन्ने शंका गरेर बाघलाई धपाउन खोज्यौं, तर नचलमलाएपछि बाघ बेहोस भएको हो कि भन्ने मनमा परेको थियो । पछि नजिकै गएर हेर्दा मरिसकेको पायौं’, राईले भने, ‘बाघको जिउभरि घाउ थियो, टाउकोमा नयाँ घाउ देखिन्थ्यो, सायद त्यो भैँसीले हानेको हुनसक्छ, हामीले हेर्दा मरेको बाघ देखेर भैँसी कराउँदै थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं ।’
