काठमाडौं । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका कार्यकर्तामाथि अनेरास्ववियुका सदस्यहरूले आक्रमण गरेका छन् । क्याम्पसको छात्रावासमा बसेका नेविसंघ रामपुर इकाईका पूर्वअध्यक्ष शुभम सिंह ठकुरी, पूर्वउपाध्यक्ष अभिषेक ओली र सुशील क्षेत्री, वर्तमान सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमल दाहाल, विद्यार्थी नेता नरेश बस्नेत, जेनिश लामा लगायतका नेविसंघका कार्यकर्तालाई लक्षित गर्दै आक्रमण भएको हो ।
नेविसंघको भनाइ अनुसार, अनेरास्ववियुमा आबद्ध सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरन खनाल लगायतका कार्यकर्ताहरूले फलामे रड, धारिलो हतियार, दाउराको चिरपट, इट्टा र ढुंगा प्रयोग गरी सुनियोजित रूपमा आक्रमण गरेका थिए, जसको कारण उनीहरू गम्भीर रूपमा घाइते भएका छन् । शैक्षिक संस्थाहरूमा यस्ता अराजक र हिंसात्मक गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको भन्दै नेविसंघले घटनाको निन्दा गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा क्याम्पस हाताभित्र विद्यार्थी समस्याका विषयमा छलफल भइरहेका बेला भएको यो आक्रमणको कडा विरोध गरिएको छ । नेविसंघले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितहरूलाई न्याय र सुरक्षा प्रदान गर्न सरकारसँग आग्रह गरेको छ ।
