इटहरी । मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ ।
बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, अस्मिताले बोक्ने गरेको मोबाइल ‘स्वीच अफ’ भएकाले ‘ट्रयाकिङ’ गर्न समेत कठिनाइ भएको छ ।
सुन्दरहरैंचा नगरपालिका–७ स्थित केरा बगानभित्र शनिबार दुई बालिका मृत फेला परेका थिए । धनकुटाको पाख्रिबास नगरपालिका–५, डिकुरे घर भई सुन्दरहरैंचा–७ मा बस्दै आएका अर्जुन कार्कीका छोरीहरू मृत भेटिएका हुन् ।
एक वर्षीया आयिका कार्कीलाई उनकी दिदी तीन वर्षीया अर्पणाले अँगालो हालेको अवस्थामा स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । कार्की परिवार स्थानीय मालती टोलका दिदी सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएको थियो । उनीहरूले नजिकै नयाँ घर बनाउँदै थिए । घरमा पानी हाल्ने विषयमा श्रीमतीसँग सामान्य विवाद भएको अर्जुनले प्रहरीसमक्ष बताएको मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।-पूर्बेली न्यूज
