• Thursday 8th of October 2026

छोरीका लागि साँचेको सपना अधुरै रहने भयो : गायक रामकृष्ण ढकाल


  • धनकुटा खबर
  • .

काठमाडौं । गायक रामकृष्ण ढकालले आफ्नी छोरीका लागि साँचेको सपना अधुरै रहेको प्रतिक्रिया दिएका छन् । केही समयअघि एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गायक ढकालले यस्तो बताएका हुन् ।
गायक ढकालले आफ्नी छोरीलाई साङ्गीतिक क्षेत्रमै ल्याउने रहर र सपना भए पनि उनले फरक फिल्ड छानेर पनि आफ्नो सपना पुरा हुन नसकेको बताए ।

छोरी रानी ढकाले सानैबाट गीत गाउने र श्रोताको मन मस्तिष्कमा बसे पनि ठुली भएपछि उनले मेडिकल क्षेत्रमा रुचि राखेको पनि खुलाएका छन् । उनले सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भने, ‘हरेक अभिभावकको सपना हुन्छ कि आफू जे पेसामा रह्यो उसको छोराछोरीलाई पनि त्यही पेसामा ल्याउन चाहन्छ । उसको परिवारमा पनि त्यही वातावराणमा हुर्किएको हुन्छ,’ उनले पछि थपेका छन्,‘जस्तो अभिभावक गायक छ भने, छोराछोरीले सानैबाट गायन सुनेको हुन्छ र उसलाई पनि गाउने बानी परेको हुन्छ। कोही पाइलट छ वा कोही डाक्टर छ भने पनि उसको बच्चामा त्यही अनुसारका सिकाई भइरहेको हुन्छ । र मलाई पनि मेरो छोरीलाई गायन क्षेत्रमा ल्याउने ठुलो रहर थियो ।’

ढकालले आफ्नी छोरीको बाल्यकाल सम्झँदै भने, ‘छोरी रानीले धेरै सानो हुँदा बाट गाएकी हुन, म सँग धेरै स्टेज पनि सेयर गरेकी छिन् । बाचुन्जेल लाई… पहाडको छुकछुके रेल लगायतका गीत गीत त सानै बाट गज्जब नै गाउँथिन ऊनी।

ढकाल केही उत्साहित हुँदै थप्छन्, ‘मेरो स्केलमा गाउँथिन्, अझ इप्रोभाइज गरेर गाउँथिन्, त्यसैले म भन्छु, रानी पनि एक ‘ब्लेस्ड सिङ्गर’ नै हो, तर ऊनी हुर्कँदै गएपछि उनको रुचिमा परिवर्तन आयो र सङ्गीत क्षेत्रलाई निरन्तरता दिन सकिनन्।’

ढकालले हाल छोरीले यो साङ्गीतिक क्षेत्र नरोजे पनि पछि पुनः आउने भइन् भने आफू जस्तो खुसी कोही नहुने बताए । उनले वर्तमान अवस्थामा छोरी रानीले मेडिकल फिल्ड छनौट गर्ने तयारी भएको पनि जानकारी गराए । अन्त्यमा उनले भने, ‘मेरो इच्छा चाहिँ यहाँनेरबाट अधुरो रहला भन्ने लागेको छ। मन थियो उनलाई पनि राम्रो कलाकार बनाऊँ, तर जीवन चाहे जसरी अघि बढ्दैन रहेछ, सोचे भन्दा फरक हुन जाने रहेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖