काठमाडौं – सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले अर्कोको श्रीमती उडाएपछि विवादमा तानिएका छन् । वाइवाले भीमबहादुर मोक्तान वैदेशिक रोजगारीमा रहेका बेलामा उनकी श्रीमतिसँग अनैतिक सम्बन्ध राखेका थिए ।
अध्यक्ष वाइवाले श्रीमति र विदेशमा कमाएको पैसासमेत खाएको मोत्तानको आरोप छ । मोक्तान वाइवाविरुद्ध पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय परिसरमै अनसन बस्ने भएका छन् । यसअघि माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा अनसन बस्न खोज्दा न्याय दिलाइदिने आश्वासनसहित उनलाई फर्काइएको थियो ।
प्रदेश समितिले घटनाबारे छानबिन गरी २५ दिनभित्र यथार्थ प्रतिवेदन दिन माओवादी केन्द्रीय सदस्य ईश्वरी भट्टराईको नेतृत्वमा आयोग बनाए पनि ६ महिनासम्म केही नभएको उनले बताए । प्रदेश समितिबाट न्यायको आश मरेको भन्दै मोक्तानले केन्द्रीय कार्यालयमा अनसन बस्ने तयारी थालेका हुन् ।
भट्टराई आयोगले वाइबालाई भेटेर प्रष्टीकरण लिन खोज्दा उनले अटेर गरेका थिए । पालिका अध्यक्ष वाइबाले मोक्तान वैदेशिक रोजगारीमा भएका बेला उनकी श्रीमतीसँग सम्बन्ध राखेको, कमाएर पठाएको सबै रकम पचाएको र फर्केपछि कुटपिट गरेको प्रमाणहरू गत माघ महिनामै पार्टीमा दिएका थिए ।
अहिले मोक्तानकी श्रीमती वाइबाकै संरक्षणमा छिन् । वाइबा र मोक्तानकी श्रीमतीको अश्लील फोन संवादसमेत त्यो बेला भाइरल बनेको थियो । अध्यक्षले उल्टै धम्क्याइरहेकोले आफ्नो सुरक्षा हुनुपर्ने, वैदेशिक रोजगारीमा हुँदा कमाएको सम्पत्ति फिर्ता हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने भीमको माग छ ।
