पछिल्लो २ घण्टा काठमाडौंको बूढानीलकण्ठ, कपन र आसपासमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण बिष्णुमती, धोवीखोला र आसपासका साना खोलामा जलसतह बढ्दो रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
नदी किनारका सडकबाट यात्रा गर्ने र तटीय क्षेत्रमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
बिहान ६ बजेतिर भने काठमाडौंमा वर्षा रोकिएको छ । काठमाडौंमा वर्षा रोकिए पनि बाग्मती प्रदेशका थोरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
