• Wednesday 7th of October 2026

समीक्षालाई पूजाको जवाफ : त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिनू


  • धनकुटा खबर
  • .

नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीलाई जवाफ दिएकी छन्।

गायिका अधिकारीले आज (मंगलबार) दिउँसो स्टाटस लेखी अभिनेत्री शर्मालाई आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी थिइन्।

एक पड्कास्टमा पूजाले अभिनेता पल शाह ‘सही’ भएको जिकिर गरेपछि त्यसको भिडिओ क्लिप्स सेयर गर्दै समीक्षाले पूजाको आलोचना गरेकी हुन्।

‘अदालत नै पडकास्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि! सत्य के हो? कि उसलाई थाहा छ कि मलाई थाहा छ, कि त भगवान्‌लाई थाहा छ’, समीक्षाले लेखेकी छन्, ‘के सही? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र, माफी दिएर साबित गरिदिएँ।’

‘त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र! यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र’, समीक्षाले अगाडि लेखेकी छन्, ‘सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो, मैले दिदी भनेँ, मानेँ। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पीडा नदिनुस् प्लिज!’

यसको जवाफ दिँदै पूजाले पनि स्टाटसमार्फत स्पष्टीकरण दिएकी हुन्। समीक्षाको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै पूजाले पूरा भिडिओ हेरेर मात्र टिप्पणी गर्न अनुरोध पनि गरेकी छन्।

‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्; त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ..’, पूजाले लेखेकी छन्, ‘त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु!’

उनले समीक्षाका विषयमा आफू नबाेलुँ भन्ने पक्षमा रहेको तर आफ्नो फिल्म आउने बेला जहिले पनि समीक्षाले आफूलाई टार्गेट गरेर लेख्ने गरेकाले बोल्न बाध्य भएको दाबी पनि पूजाले गरेकी छन्।

‘मिडियामा आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन्। योबाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला… त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु; र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु…पूजाले कटाक्ष गरेकी छन्, “मुभी आउनुअगाडि शत्रुहरू त लाग्छन् नै…।’

हाल पूजा र पल शाह फिल्म ‘रावायण’को प्रमोसनमा छन्। यसै सन्दर्भमा पूजाले एक अन्तर्वार्तामा पलको समर्थनमा बोलेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖