भदौ १७ गते, बुबाको मुख हेर्ने दिन । साँझ साढे ९ बजेको थियो ।
बाहिर झिलिमिली भए पनि साँझ परेकोले कुशे औँसीको चहलपहल विस्तारै सकिँदै थियो ।
काठमाडौंको टंगालमा रहेको टर्किस रेस्टुरेन्ट ‘अलेभ कबाब सल्टनेट’का स्टाफहरू पाहुनालाई स्वागत गर्नमा तल्लीन थिए ।
त्यसैबेला एउटा जम्बो टोली रेस्टुरेन्टमा छिर्यो । त्यो टोली थियो पूर्वराजा ज्ञानेन्द्र शाहको टोली ।
सपरिवारसहित पुगेको शाहको टोलीले अलेभ रेस्टुरेन्टमा करिब साढे २ घण्टा समय बितायो । त्यहाँ ‘डिनर’ गरेर उनीहरू मध्यरातमा फर्किए ।
सेफ प्रकाश कटुवालका अनुसार फर्किने बेला शाहले रेस्टुरेन्टको सेवा सुविधाबारे निकै राम्रो प्रतिक्रिया दिए ।
‘उहाँले रेस्टुरेन्टको टर्किस खाना नेपालको वान अफ दि वेस्ट रहेको बताउनुभयो,’ सेफ कटुवालले ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै लोकान्तरसँग भने, ‘हामी खासै रेस्टुरेन्ट जाँदैनौं, तर यो हाम्रो नजरमा परेको रेस्टुरेन्ट हो ।’
रेस्टुरेन्टबारे पारस शाह पहिला देखिनै जानकार रहेको उनले बताए । ‘पारस र हिमानी सरकार पहिलेदेखि नै आउनुहुन्थ्यो, उहाँहरूले जानकारी दिएपछि ज्ञानेन्द्र सरकार पनि आउनुभएको हो,’ सेफ कटुवालले भने ।
अलेभ कबाबमा खानासँगसँगै खानाकै माध्यमबाट नाटक पनि मञ्चन हुने गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकसँगै मध्यपूर्व क्षेत्रमा लामो समय बस्दै आएका नेपालीलाई उही किसिमका स्वाद पस्किने अवधारणामा यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।
