• Saturday 28th of November 2026

काठमाडौंका यी स्थानमा आज बिहानै काटिनेछ बिजुली


  • धनकुटा खबर
  • .

काठमाडौं— भूमिगत प्रसारण लाइन विस्तारका लागि काठमाडौंका विभिन्न स्थानमा बुधबार बिजुली कटौती हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेर रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म लाइन काट्ने जनाएको हो। भूमिगत गरिएका प्रसारण लाइनमा काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्युरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म लाइन काटिनेछ।

यस्तै, रत्नपार्क बगैँचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिङ इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ।

लैनचौर सबस्टेसनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौं प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ। ‘तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्ने छ। बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ,’ सूचनामा भनिएको छ।

प्राधिकरणले काठमाडौं उपत्यका भित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖