• Tuesday 6th of October 2026

महिनावारी हुने र सुक्ने समयमा किन परिवर्तन आउँदैछ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । विगतमा किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले यो उमेर घटेर ९–१० वर्षमा झरेको छ । अर्थात् उमेर नपुग्दै बालिकामा महिनावारी चक्र सुरु भएको छ । पछिल्लो समय महिनावारी हुने उमेर घट्नुका साथै रजोनिवृत्ति हुने उमेर पनि घटेको छ ।

धेरै महिलाको पहिलो महिनावारी उसको पारिवारिक पृष्ठभूमिको आधारमा पनि निर्धारण हुने गर्छ । आमा तथा हजुरआमाको पहिलो महिनावारी कुन उमेरमा भएको हो, त्यसको आधारमा पनि ती घरकी महिलाको महिनावारी मापन गर्न सकिन्छ, जुन आनुवंशिक कारणमध्येमा पर्ने स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागृति खनाल बताउँछिन् ।

‘पछिल्लो समय महिनावारी हुने उमेर धेरैमा घट्दो छ, त्यसको एउटा कारण बदल्दो जीवनशैली हो । पहिलेका बालिका शारीरिक रुपमा सक्रिय हुन्थे, त्यसैले पनि उनीहरूको महिनावारी हुने अलि ढिलो हुने गर्थ्यो’ डा. खनाल भन्छिन्, ‘अहिले जीवनशैली एकदमै निष्क्रिय भएको छ । पछिल्लो समय मोटोपनको कारण पनि महिनावारीको समस्या बढ्दै गएको छ ।’

अहिलेका बालबालिका पढाइ लगायत विभिन्न तनावमा पनि हुन्छन् । साथै थाइराइडको डिसअर्डर र जलवायु परिवर्तनले गर्दा पनि यस्तो समस्या देखिएको खनाल बताउँछिन् । नयाँ अनुसन्धानले संयुक्त राज्य अमेरिकामा किशोरीहरूमा कम उमेरमै महिनावारी सुरु हुन थालेको देखाएको छ । दूषित वायुलाई त्यसका लागि जिम्मेवार ठानिएको छ ।

छिटो महिनावारी सुक्ने कारण

४० वर्षमुनिका महिलामा महिनावारी सुक्नुलाई छिटो रजोनिवृत्ति भनिन्छ । रजोनिवृत्ति सामान्यतया ४५ देखि ५० वर्षको उमेरमा सुरु हुन्छ । तर कतिपय महिलामा चाँडै अर्थात् ४० देखि ४५ वा ४० भन्दा अघि पनि रजोनिवृत्ति सुरु हुन्छ । चाँडै रजोनिवृत्तिको कारण धेरै हुने डा. खनाल बताउँछिन् ।

‘प्रकृतिले महिलालाई जन्मिने बित्तिकै निश्चित अण्डा दिएको हुन्छ । उमेर बढ्दै गएपछि महिनावारी चक्रपिच्छे अण्डा खर्चिंदै जान्छ र अण्डा सकिएपछि रजोनिवृत्ति हुन्छ । ‘जस्तो १२ वर्षको उमेरभन्दा पहिले नै महिनावारी हुने महिलाहरूमा महिनावारी सुक्ने सम्भावना ४० देखि ४४ वर्षको उमेरबीच हुने गरेको पाइन्छ ।’

यदि आमाको चाँडै रजोनिवृत्ति भयो भने छोरीलाई पनि चाँडै रजोनिवृत्ति हुन्छ । यस बाहेक त्यहाँ केही अटोइम्युन अवस्था वा अटो इम्युन सिनड्रोम छन्, जुन महिलामा बढी सामान्य हुन्छन् जसको कारणले गर्दा समयभन्दा पहिले नै महिनावारी रोकिने खनालले बताइन् ।

‘यदि पाठेघर सानै उमेरमा हटाइन्छ वा क्यान्सरको उपचार गराइरहेको छ र केमोथेरापी गराइरहेका छन् भने पनि महिनावारी समयभन्दा पहिले नै बन्द हुनसक्छ । प्रि-मेनोपजको अर्को कारण धुम्रपान पनि हो । धुम्रपान गर्ने धेरै महिलामा पनि रजोनिवृत्ति चाँडै हुन्छ,’ उनी भन्छिन् ।

महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन् । यसको बारेमा पूर्ण ज्ञान अर्थात् जानकारीले समस्या सम्बन्धी चिन्ता र बोझ कम गर्न मद्दत गर्ने डा. खनाल बताउँछिन् ।

महिनावारी सुक्नेबेला देखा पर्ने लक्षण

महिनावारी रोकिएपछि महिलाको शरीरमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोनको कमी हुन्छ, जसले विभिन्न शारीरिक परिवर्तन देखा पर्छन् । हर्मोनको कमीले निद्रा नलाग्ने, खलखल पसिना आउने, एकदमै जाडो र गर्मी हुने जस्ता लक्षण देखा पर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. खनाल बताउँछिन् ।

‘यी हर्मोनले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम पनि गर्छ । जसकारण हाडजोर्नी कमजोर भएर ढाड, कम्मर र जोर्नी दुख्नेजस्ता समस्या देखिन्छन्’ उनी भन्छन्, ‘कतिमा त मुटुमा नै समस्या देखिने पनि हुनसक्छ ।’

हर्मोनको कमीले गर्दा भावनात्मक परिवर्तन देखा पर्छ । जसले गर्दा मुड परिवर्तन हुने, सानो सानो कुरामा रिस उठ्ने र झर्को लाग्ने पनि हुनसक्ने खनालले बताइन् ।

लक्षणलाई कम गर्ने उपाय

महिनावारी रोकिएपछि हर्मोनको कमीले शरीरमा विभिन्न परिवर्तन तथा समस्या देखा परेको छ भने त्यसको उपचार हर्मोनल रिप्लेसमेन्टबाट हुने डा. खनाल बताउँछिन् । ‘कमी भएको हर्मोनलाई बाहिरबाट औषधि वा भजाइनामा लगाइने जेलको माध्यमबाट दिएर शरीरमा हर्मोनको मात्रा बढाइने गरिन्छ’ उनी भन्छन्, ‘बाहिरबाट दिएको त्यो हर्मोनल औषधिको प्रयोग डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । यसो गरेमा हर्मोनको कारणले शरीरमा भएको परिवर्तन र समस्या कम हुन्छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖