बैतडी: बैतडीकी एक १४ वर्षीया विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी छन्। गत भदौ २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी हुन्।
डडेल्धुरा अस्पतालका अनुसार भदौ २६ गते बिहान ८ः५३ बजेको समयमा पहिलो र ८ः५९ मा दोस्रो सन्तानको रुपमा जन्म दिएको डडेल्धुरा अस्पतालले जनाएको छ। पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम तौल रहेको बताइएको छ।
शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ। दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक बालकुमारी बस्यालले जानकारी दिइन्। ‘किशोरीलाई नर्मल डेलिभरी गराउन सफल भएका छौँ, दुवै शिशुको अवस्था सामान्य बन्दै गइरहेको छ, आमा पनि स्वस्थ छिन्,’ वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक बस्यालले भनिन्।
१४ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएको घटना एकदमै दुर्लभ मानिएको बस्यालले बताइन्। गत वर्ष प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानको सकुसल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराए। उनले भने, ‘हाम्रो प्रेम विवाह भएको एकवर्ष भयो, अहिले जुम्ल्याहा छोराको जन्म भएको छ।’
२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भएपनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चाको जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए। बैतडीमा मात्रै विगत २ वर्षको अवधिमा २० वर्ष नपुगिक नै गर्भवती हुनेको संख्या करिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।
