काठमाडौं । अबको तीन दिन देशभर भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीको बहाव बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।
अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरूमध्ये धेरैजसो कोसी प्रदेशका छन् ।
महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने जनाएको छ । वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने जानकारी महाशाखाले दिएको छ ।
कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेस प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ।
यसै गरी झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यसै गरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।
अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।
भारी वर्षाका कारण विभिन्न २० जिल्लामा अति उच्चसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
