• Saturday 28th of November 2026

कोशीको बाढीले बगायो आर्क डिजाइनमा बनेको फोक्सिङटारको पुल


  • धनकुटा खबर
  • .

कोशी प्रदेशका पहाडका जिल्लाहरुमा बाढीपहिरोमा परेर मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि भएको छ। खासगरी सडक र पुलहरुमा धेरै क्षति पुगेको छ।

मेची राजमार्गको पाँचथर खण्डमा पर्ने हेवाखोलाको पुल भत्केको केही घन्टापछि बाढीले उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल कोशी नदीले बगाएको छ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुलको आर्क नै कोशीको बाढीले बगाएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए।

‘पुलको आर्क बगाएको जानकारी सुरक्षा निकायबाट आएको छ’ उनले भने, ‘आर्क नै बगाएपछि पुलको स्पान बाँकी रहने अवस्था नै बन्दैन।’
सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल १० वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो।
फोक्सिङटार पुलले उदयपुरको फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लाई जोडेको थियो।

निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीले उदयपुरको घुर्मी बजार र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुल समेत जोखिममा परेको छ।
सुनकोशीको पानी अहिले उक्त पुलको माथिबाट बगिरहेको स्थानीयबासीले जनाएका छन्।

घुर्मी पुल दुई दशक लगाएर निर्माण सम्पन्न भएको थियो।
शनिबार बिहान मेची राजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलीब्रिज बाढीले बगाएको थियो।

बाढीले हिलिहाङतर्फको पिल्लर बगाएको छ । गत वर्ष आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थाई ब्रिज बनाइएको थियो। ब्रिज बगाए पछि पाँचथरको हिलिहाङ, याङवरक र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ।

यसैगरी पाँचथरकै फिदिम फालोट सडकखण्ड अन्तर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्की पुल पनि बाढीले बगाएको छ।
मेची राजमार्गको हेवा खोलामा बेली ब्रिज बगाएको केही समयमा नै फेमेखोलाको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पुल बगेसँगै सदरमुकाम फिदिमबाट फिदिम–११, फिदिम–१२, फिदिम–१३ र फालेलुङ गाउँपालिका सँगको सम्पर्क टुटेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖