काठमाडौँ । पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल (सहायक रथी) मिलन केसीको मृत्यु भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसीको पहिरोमा परेर मृत्यु भएको हो ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा उनी बेपत्ता भएका थिए । उनको शव भेटिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिएका छन् ।
शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथीको उद्धार गर्ने क्रममा हिजो बेपत्ता भएका थिए ।
