विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा विष खुवाएर दुई नाबालिका छोरीको हत्या आरोपमा पक्राउ परेकी २१ वर्षीय अस्मिता पौडेल (कार्की) पुर्पक्षको लागि कारागार चलान भएकी छन् ।
धनकुटाको पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैंचा–७ मालती टोल बस्ने अस्मितालाई मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पणा र एक वर्षीया आइंकालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेकी थिइन् ।
दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैंचा-७ स्थित केरा बगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा भदौ १९ गते झापाबाट पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका-५ स्थित पूर्व-पश्चिम लोक मार्गनजिक एभरेस्ट बैंकअगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो ।
निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीया अर्जुन कार्कीसँग विवाद भएपछि उनले छोरीहरूको हत्या गरेको स्वीकारेकी थिइन् ।
