• Monday 5th of October 2026

के गाडी चढ्नेबित्तिकै उल्टी हुन्छ? यी हुन् कम गर्ने उपाय


  • धनकुटा खबर
  • .

कतिपयलाई गाडीमा चढ्नेबित्तिकै उल्टी आउन सुरु हुन्छ। यसको कारण हो– मोसन सिकनेस। जसका कारण थुप्रै मान्छे यात्रा गर्न डराउँछन्।

यस समस्याबारे संक्षिप्त चर्चा गरौँ।

के हो मोसन सिकनेस?
यो कुनै रोग होइन। गाडी वा विमानमा सवार हुँदा हाम्रो शरीर हेर्दा एकैठाउँ बसिरहेको हुन्छ। तर, सँगगँगै गतिमा पनि हुन्छ। त्यसैले हाम्रो स्नायु प्रणाली झुक्किन पुग्छ। कतिपयलाई भिडिओ गेम खेल्दा पनि यस्तो समस्या आउन सक्छ।

किन हुन्छ यो समस्या?
जब हाम्रो शरीर हल्लिरहेको हुन्छ, तब आँखा, कानलगायतले दिमागलाई सूचना दिइरहेको हुन्छ। तर, ती सूचनामा गडबडी भएमा दिमागले ठिकसँग संकेत पाउँदैन।

सजिलोका लागि, गाडीमा यात्रा गरिरहँदा हाम्रो आँखाले हामी गतिमा रहेको सूचना दिमागलाई दिन्छ। तर, कानले स्थिर बसिरहेको सूचना दिन्छ।

यसरी दुईखाले सूचना पाएर दिमाग अलमलिन पुग्छ। त्यस्तोमा वाक्वाकी वा चक्कर लागेको महसुस हुन्छ।

कसलाई ज्यादा सताउँछ मोसन सिकनेसले?
हुन त यो समस्या जोकसैलाई हुन सक्छ। तर, केही व्यक्तिलाई यसले ज्यादा सताउँछ।

खासगरी २ देखि १२ वर्षबीचका बालबालिकालाई यो समस्या हुन्छ। किनकि उनीहरूको दिमाग र नजरबीचको समन्वय पूर्ण विकसित भएको हुँदैन।

हर्मोनमा परिवर्तन हुने हुनाले गर्भवती महिलालाई पनि मोसन सिकनेसको सम्भावना ज्यादा हुन्छ। त्यस्तै, माइग्रेन, एन्जाइटी, तनावसँग जुधिरहेका मानिस, लामो दूरीको यात्रा गर्न बानी नपरेकाहरू, मादक पदार्थ सेवन गरेकाहरू, खराब भेन्टिलेसन भएको सवारीमा चढेकाहरू पनि यसबाट बढी पीडित हुन सक्छन्।

उपचार के छ त?
मोसन सिकनेसको पूर्ण उपचार छैन। यसका लक्षण कम गर्न निम्न केही उपाय अपनाउन सकिन्छ :

ताजा हावामा सास फेर्ने : कार या बसमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोलेर ताजा हावा आउन दिनुस्।

टाढा हेर्ने : किताब या फोन हेर्दै हुनुहुन्छ भने बन्द गर्ने। टाढाका चिज हेर्दा राहत हुनसक्छ।

पछाडि पल्टिने : सिट पछाडि धकेलेर पल्टिने र आँखा चिम्लिने। यसो गर्दा शरीर स्थिर रहन्छ।

क्यान्डी खाने : सजिलो महसुस गर्न विभिन्न किसिमका क्यान्डी लिन सकिन्छ।

खानामा ध्यान दिने : यात्राभन्दा केही घण्टापहिले नै खाना खाने। टन्न नखाने। तारेको खाना नखाने। रक्सी, चुरोट नखाने।

उल्टी रोक्ने दबाइ : डाक्टरलाई सोधेर उल्टी रोक्ने दबाइ पनि लिन सकिन्छ। यात्रा गर्नुभन्दा एक घण्टाअघि नै दबाइ खाने।

अगाडिको सिटमा बस्ने : कारमा चालकसँगैको सिटमा बस्ने। बसमा पनि अग्रभागको सिटमा बस्ने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖