• Wednesday 7th of October 2026

अग्रिम टिकट बिक्रीमा ‘छक्कापञ्जा ५’ अगाडि, अन्य फिल्मको कस्तो छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अग्रिम टिकट बिक्रीको यही गति कायम रहे बुधबार रातिसम्म ‘छक्कापञ्जा ५’ ले देशभर पाएको २२१ शोमध्ये आधाभन्दा धेरै ‘सोल्डआउट’ हुने देखिन्छ ।

अग्रिम टिकट बिक्रीमा विहिबारदेखि प्रदर्शन हुन लागेका फिल्ममध्ये दीपाश्री निरौला निर्देशित फिल्म अगाडि देखिन्छ । यो मामिलामा देशभर १३५ शो पाएको ‘१२ गाउँ’ दोस्रो स्थानमा र ९४ शो पाएको ‘ज्वाइँ साब’ तेस्रो स्थानमा छन् ।

क्यूएफएक्सका प्रमुख मल्टिप्लेक्समा ‘छक्कापञ्जा ५’ को प्राइम टाइमका शोको अकुपेन्सी शतप्रतिशततर्फ उन्मुख छन् । मध्यान्हसम्म ७० र ८० प्रतिशत टिकट बिक्री भइसकेको छ भने बेलुकासम्म शतप्रतिशत हुने अनुमान लगाउन सकिन्छ ।

क्यूएफएक्सको भक्तपुर हलमा ‘छक्कापञ्जा’का सबै शो करिब हाउसफुल हुने निश्चितजस्तै छ । यति मात्र होइन, शनिबार मध्यान्हसम्मै ‘छक्कापञ्जा’को अग्रिम टिकट बिक्री भइरहेको देखिएको छ ।

काठमाडौं, बुटवल, नारायणगढ, दमक, पोखरा जस्ता सहरका मल्टिप्लेक्समा फिल्मका अधिकांश शोका टिकट बिक्री भइसकेका छन् । टिकट बिक्रीको ट्रेन्ड हेर्दा दर्शकको प्राथमिकता पारिवारिक र कमेडी फिल्मतर्फ देखिन्छ । यसको पूर्ण आकार बुधबार रातिसम्म टुंगो लाग्नेछ ।

‘१२ गाउँ’को बुकिङ पनि सन्तोषजनक

विराज भट्ट निर्देशित फिल्मको अग्रिम टिकट बिक्री सन्तोषजनक देखिएको छ । भट्टको गृहनगर धनगढी, काठमाडौंका एफक्युब, लबिम र बिग मुभिजमा यो एक्सन फिल्मको अकुपेन्सी बढी देखिन्छ ।

‘ज्वाइँ साब’ र बलिउडको ‘जिग्रा’ पछ्याउँदै

जितु नेपालको कमेडी फिल्म ‘ज्वाइँ साब’ले अपेक्षाभन्दा न्यून अग्रिम टिकट बिक्री गरिरहेको छ । ट्रेन्डिङको गति हेर्दा यो फिल्मलाई बुकिङमा दर्शकलाई आकर्षित गर्न सकस परिरहेको देखिन्छ । तर अभिनेता नेपाल चाहिं आफ्नो फिल्मले दर्शकलाई तान्ने दाबी गर्छन् ।

सबैभन्दा कमजोर बुकिङ आलिया भट्ट स्टारर बलिउड फिल्म ‘जिग्रा’को देखिन्छ । देशभर ३१ शो पाएको ‘जिग्रा’को देशव्यापी अग्रिम टिकट बिक्री १० प्रतिशत पनि छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖