केही साताअघि नेसनल ज्योग्राफीको एउटा टोली वृत्तचित्र बनाउन सगरमाथा गएको थियो। त्यस यात्रामा उनीहरू एउटा बुटसँग ठोक्किए। त्यसभित्र हिउँले कठ्यांग्रिएको मानव खुट्टा पनि थियो जसले लगाएको मोजामा रातो अक्षरले ‘ए. सि. इरभिन’ लेखिएको छ।
यसलाई सय वर्षअघि सगरमाथा आरोहण क्रममा बेपत्ता भएका एन्ड्रयु कोमिन ‘स्यान्डी’ इरभिनकै खुट्टा र बुट भएको हुनुपर्ने अनुमान गरिएको छ।
इरभिनसँगै सगरमाथा आरोहणमा गएका जर्ज म्यालोरीको मृत शरीर भेटिँदा उनको भने भेटिएको थिएन।
म्यालोरीको मृत शरीर सन् १९९९ मे १ मा अमेरिकी पर्वत आरोही कोर्नाड एंकरले सगरमाथा चढ्दै गर्दा भेटेका थिए।
इरभिनको बुट र खुट्टा भेटिनुले सय वर्षदेखि सगरमाथामा दफन रहस्यलाई पुनः उजागर गरेको छ। उनको बुट र खुट्टा अहिले चीनको सरकारी एजेन्सी ‘चाइना तिब्बत माउन्टेनरिङ एसोसियसन’ मा सुरक्षित छ। इरभिनको खुट्टाको डिएनए उनका परिवारजनसँग लिइएको छ। त्यसको नतिजा सार्वजनिक भइसकेको छैन।
यो बुट भेटिएसँगै म्यालोरी र इरभिनले बोकेको कोडाक क्यामरा पनि भेट्न सकिने अनुमान गरिएको छ। वर्षौं हिउँमा दफन क्यामरा भेटिए त्यसले कैद गरेका तस्बिर निकाल्न सकिने ‘कोडाक’ कम्पनीका विज्ञहरूले बताएका छन्।
उक्त क्यामेरा भेटिए त्यसले म्यालोरी र इरभिनले सगरमाथा चुचुरोसम्म पुगेको वा नपुगेको रहस्योद्घाटन हुने आशा राखिएको छ। यसले एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शिखरमा पुग्नुभन्दा २९ वर्षअघि नै म्यालोरी र इरभिनको जोडी सगरमाथा आरोहण गर्न सफल भएको प्रमाणित हुनेछ।
