पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएदेखि नै देश र सिंगो राजनीति तरंगित बनेको छ भने पोखरा त्यसयता अशान्त छ ।
शुक्रबार मध्यरातदेखि नै रविलाई पक्राउ गरेपछि सडकमा निस्किएका रास्वपा कार्यकर्ताले दिनहुँ आन्दोलन गरिरहेका छन् ।
रवि पक्राउको विरोधमा रास्वपा सडक आन्दोलनमा छ भने सहकारी पीडितले पनि ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि रवि पक्राउको घटनामा विभक्त भइरहेका छन् ।
नेकपा माओवादीका कार्यकर्ता पनि रास्वपासँग नजिक र सहानुभूति राखिरहेको देखिएको छ भने एमाले-कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउको समर्थन गरिरहेका छन् ।
