काठमाडौं – सहकारी ठगीका मुख्य योजनाकार जितेन्द्रबाबु राई (जीबी) लामो समयदेखि फरार छ । उनी मलेसियामा रहेको सुराक पाएपछि गत भदौको पहिलो साता प्रहरी उपरीक्षक नरहरि रेग्मीसहित दुई प्रहरी जीबीको खोजी गर्न भन्दै मलेसिया गएका थिए ।
प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले समन्वय गरेपछि रेग्मीको टोली मलेसिया पुगेको थियो । जीबी मलेसियामै रहेको भन्ने पूर्ण जानकारी पाएर मलेसिया गएको रेग्मीको टोलीलाई भने जीबीसँग भेटसमेत नगराई मलेसियन टोलीले फिर्ता पठाइदिएको थियो ।
सो क्रममा मलेसियन प्रहरीले एक मलेसियन महिलाको केशसमेत उठाएको प्रहरी स्रोत बताउँछ । नेपाली युवासँग प्रेम सम्बन्धमा रहेपछि क्वालालाम्पुरकी ५७ वर्षीया माला भेल्लो नाम गरेकी महिला १२ वर्षअघि २४ मार्च २०१२ मा नेपाल आएकी थिइन् । भिजिट भिसामा नेपाल आएकी भेल्लो र ती युवक २ वर्षसम्म काठमाडौंमा सँगै बसेका थिए । त्यसपछि ती युवाले भेल्लोसँग विवाह नगरी उनलाई छाडेर दुबई गए ।
यता काठमाडौंमै रहेकी भेल्लोमाथि सामुहिक बलात्कार र यातना दिनेसमेत काम भएको विषय मलेसियन प्रहरीले उठाएको गृह स्रोत बताउँछ । ओभर स्टेमै रहेर विभिन्न काम गर्दै आएकी भेल्लो त्यसपछि मलेसिया फर्कने तयारीमा थिइन् । उनी ९ मार्च सन् २०२२ मा अध्यागमन कार्यालय कालिकास्थानसमेत पुगिन् ।
तर अध्यागमनले भेल्लोलाई ३ हजार ६३७ दिन ओभर स्टेमा रहेको भन्दै २६ लाख ३८ हजार ५१७ रुपैयाँ जरिवाना सुनायो । उक्त रकम भेल्लोले बुझाउन नसक्ने बताएपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १६४ को उपदफा ५ बमोजिम जरिवाना वापत हुने कैद सजाय ७ वर्षसम्म कैद बस्नुपर्ने ठहर गर्यो ।
जसअनुसार उनी २५ फागुन २०७८ देखि २४ फागुन २०८५ सम्म कैद बस्नुपर्ने भयो । अध्यागनको उक्त निर्णयपछि उनी केन्द्रीय कारागार सुन्धारा चलान भइन् । आफ्नो पीडा सुनाउँदासमेत अध्यागमनले नसुनेपछि उनी कारागार चलान भइन् । भेल्लोले आफू मानव बेचबिखन तथा ओसारपसारको शिकार भएको बताउँदै कानूनी लडाईँ लडिन् ।
घटनाबारे उनले मलेसियामा रहेकी आफ्नी छोरीलाई समेत जानकारी गराइन् । छोरीले पनि आमालाई मलेसिया फिर्ताका लागि पहल गरिन् । यस विषयमा मलेसियन सरकार र त्यहाँको प्रहरी पनि पूर्ण जानकार थियो । सन् २०२२ मै मलेसियन सरकारले २ पटकसम्म कुटनीतिक नोट लेख्दै घटनाको अनुसन्धान गर्न र भेल्लोलाई मलेसिया पठाउन आग्रहसमेत गर्यो ।
‘भेल्लोले कानूनी झमेला ब्यहोरेको, अनाहकमा दुःख पाएको र २ पटकसम्म कुटनीतिक नोट लेख्दासमेत नेपालले बेवास्ता गरेको विषय मलेसियन प्रहरीले नेपाल प्रहरीसँग उठाएछ’, गृह स्रोतले भन्यो, ‘जीबीलाई नेपाल फिर्ता ल्याउन नसक्नुमा यो पनि एउटा कारण देखियो ।’ मलेसियन सरकारले ७ मलेसियन महिलालाई बेचबिखन गरी नेपाल ल्याएको आरोपसमेत लगायो । भेल्लोले कानुनी उपचार खोज्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत हालेकी थिइन् ।
२ भदौ २०८१ मा उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले भेल्लोलाई रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी बल्ल मलेसिया फिर्ता हुन पाएकी थिइन् । सर्वोच्चको आदेशपछि १४ भदौमा नेपाल सरकारले भेल्लोलाई मलेसिया फिर्ता गरेको थियो । नेपाल प्रहरी मलेसिया गएको बेला प्रश्न उठाए लगत्तै ती महिलालाई मलेसिया डिपोर्ट गरिएकाले जीबीलाई अब नेपाल ल्याउन सकिने सम्भावना देखिएको गृहमन्त्रीको सचिवालयका एक अधिकारी बताउँछन् ।
मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारीसमेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जसकारण जीबी फिर्ताको सेकेन्ड होम भिसा पनि जोडिएको बताइन्छ ।-मोटिभेट न्यूजबाट
