• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतीय गृहमन्त्री अमित शाह नै हत्यामा संलग्न भएको क्यानडा सरकारको आरोप


  • धनकुटा खबर
  • .

आफ्नो भूमिमा भएको शिख पृथकतावादीको हत्यामा भारतीय गृहमन्त्री अमित शाह संलग्न रहेको आरोप क्यानेडियन सरकारले लगाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने शाहको समेत संलग्नतामा क्यानडा भूमिभित्र हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि भएको आरोप क्यानेडियन सरकारले लगाएको हो। यसबारे अमेरिकी अखबार ‘द वासिङटन पोस्ट’ ले उच्च क्यानेडियन अधिकारीको हवाला दिँदै दुई साताअघि समाचार लेखेको थियो।

क्यानेडियन उप-विदेशमन्त्री डेभिड मोरिसनले मंगलबार एक संसदीय प्यालनमा बोल्दै ती अधिकारी आफू भएको बताएका छन्। त्यसबारे केही प्रमाण वा विस्तृत विवरण भने उनले सार्वजनिक गरेनन्।

गत वर्ष जुनमा पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्याका कारण बिग्रिएको भारत-क्यानडा सम्बन्धमा पछिल्लो समय फेरि तनाव आएको छ।

क्यानेडियन नागरिक निज्जर हत्यामा भारत संलग्न भएको आरोप क्यानडाले लगाएको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जर हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण क्यानेडियन सुरक्षा संस्थासँग भएको दाबी गरेका थिए। उनले यसबारे अघिल्लो सेप्टेम्बरमा संसदमा बोलेका थिए।

त्यसपछि अक्टोबर १४ मा ट्रुडोले क्यानडाको भूमिभित्र हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि गरेको आरोप भारत सरकारमाथि लगाउँदै त्यस्तो कार्य अस्वीकार्य भएको बताएका थिए।

निज्जर हत्यामा भारतीय संलग्न रहेको प्रमाण भेटिए पनि भारतले अनुसन्धानमा नसघाएको आरोप पनि क्यानडाले लगाएको थियो।
उक्त हत्या लगायत अरू क्यानेडियन शिखविरूद्धका गतिविधिमा संलग्नताको आरोप लगाउँदै अक्टोबर १४ मै ६ जना भारतीय कूटनीतिज्ञलाई क्यानडाले निष्कासन गरेको थियो। क्यानडाका लागि भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा लगायत ६ जना कूटनीतिज्ञमाथि छानबिनका लागि कूटनीतिक उन्मुक्ति हटाउन भारतले नमानेपछि उनीहरूलाई निष्कासन गरिएको थियो।

सुरक्षा खतरा देखाउँदै भारतले आफै फिर्ता बोलाएको बताए पनि उनीहरूलाई निष्कासन नै गरिएको पश्चिमी मिडियाहरूले जनाएका थिए।
जबाफमा भारतले पनि कार्यवाहक उच्च आयुक्त स्टिवार्ट ह्विलरसहित ६ जना क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।
निज्जर हत्यामा भारतीय एजेन्टको संलग्नता दाबी गरे पनि प्रत्यक्ष रूपमा उच्च सरकारी अधिकारीको संलग्नताबारे क्यानडा बोलेको थिएन। अहिले भने उसले आफ्नो भूमिमा भएको आपराधिक गतिविधिमा भारत सरकारकै संलग्नता भएको दाबी गरेको छ।

अक्टोबर १२ मा भारतीय प्रधानन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र क्यानेडियन सुरक्षा अधिकारीबीच सिंगापुरमा गोप्य भेट भएको थियो। उक्त भेटमा क्यानडाले आपराधिक गतिविधिमा भारतको संलग्नताको प्रमाण समेत पेस गरेको द वासिङटन पोस्टले त्यसपछि लेखेको थियो। भारतले भने त्यस्तो केही पेस नगरिएको दाबी गरेको छ।

भारतले पाकिस्तान, नेपाल लगायत छिमेकी राष्ट्रमा यस्ता प्रकृतिका हत्या गर्ने र गराउने भनिए पनि पश्चिमा देशमा गराएको यसअघि खुलेको थिएन।

वासिङटन पोस्टले क्यानेडियन अधिकारीहरूलाई उद्धृत गरेर त्यति बेला लेखेको समाचारअनुसार, उच्च आयुक्त बर्मासहित भारतीय कूटनीतिज्ञले क्यानेडियन शिखविरूद्ध जासुसी गर्थे। यसरी प्राप्त सूचना भारतीय गृहमन्त्री अमित शाह र गुप्तचर संस्था ‘रअ’ का वरिष्ठ अधिकारीलाई पठाउँथे। अनि कारबाहीका लागि अनुमति लिन्थे।

भारतीय कूटनीतिज्ञहरूबीचको संवाद र मेसेजका आधारमा उनीहरूले मोदीका दाहिने हात मानिने शाहसँग अनुमति लिएको खुलेको क्यानडाको दाबी छ।

त्यसरी प्राप्त जानकारीका आधारमा रअले क्यानेडियन नागरिक छानेर लरेन्स बिस्नोईको गिरोहलाई हमलाका लागि खटाउने गरेको पनि वासिङटन पोस्टले जनाएको छ।

बिस्नोई अहिले गुजरात कारागारमा छन्। गुजरात मोदी र शाह दुवैको गृहजिल्ला हो। उनले त्यहीँबाट आफ्नो आपराधिक गिरोह चलाइरहेको मानिन्छ। उनको गिरोहले विजया दशमीको साँझ महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या गरेको थियो। उनले भारतीय अभिनेता सलमान खानको हत्या गर्ने धम्कीसमेत दिइरहेका छन्। बाबा सिद्दिकीको सलमान खान, शाहरूख खान लगायत बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ।

बिस्नोई गिरोहको क्यानडामा पनि राम्रो पकड छ। आफ्ना पत्र र सन्देशको अन्त्यमा जय श्रीराम लेख्ने बिस्नोईलाई मोदीको हिन्दुवादी सरकारले परिचालन गरिरहेको आशंका छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖