• Saturday 28th of November 2026

लक्ष्मीपूजामा किन बनाइन्छ रंगोली ?


  • धनकुटा खबर
  • .

काठमाडौं – आज यमपञ्चक (तिहार)को तेश्रो दिन धनधान्य र समृद्धिकी देवी लक्ष्मीको व्रत, पूजा, अर्चना र साधना गरी लक्ष्मीपूजा गरिदैछ । लक्ष्मीपूजाको दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोबर तथा रातो माटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीले घरमा सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने विश्वास रहिआएको छ ।

लक्ष्मी पूजाकै दिन लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ । पूजा कोठामा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्दछ । त्यसपछि दियो, कलश र गणेश पूजा गरिन्छ ।

पहिले दियो बालेर हातमा कुश, द्रव्य, जौ, तिल र जल लिएर ‘मेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त होउन् र आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहुन्, यसका लागि दीप–कलश–गणेश महालक्ष्मीसहित, सरस्वती, इन्द्र र कुबेर आदिको पूजा गर्दछु’ भनेर संकल्प गर्नुपर्दछ ।

त्यस पश्चात् अर्घ स्थापना गरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ‘ॐ गं गणपतये नमस्’ भन्दै सबै उपचारले पूजा गरिसकेपछि धुप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्नुपर्दछ । त्यसपछि इशानकोणमा रहेको वरुण कलशको पनि यसै गरी पूजा गर्नु पर्दछ ।

लक्ष्मी पूजामा रंगोलीलाई पनि महत्त्वका साथ सजाउने गरिन्छ । खासमा रंगोलीलाई स्वागतम् चिह्न वा भगवतीको आसनको रूपमा प्रयोग गरिएको हो भन्न सकिन्छ । यो घरको प्रवेशद्वारमा बनाइन्छ र यसले देवी लक्ष्मीलाई आमन्त्रण गर्नका लागि सजिलो बनाउँछ । लक्ष्मीजीको आगमनका लागि रंगोलीले स्वागतको वातावरण सिर्जना गर्दछ ।

रंगोलीलाई रङ्गवली वा रेखी पनि भनिन्छ । रंगोली र पाइला बनाउने परम्पराले हाम्रो धार्मिक तथा सांस्कृतिक दुवै दृष्टिकोणबाट महत्त्व राख्दछ र लक्ष्मी पूजामा यसको विशेष स्थान पनि रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖