डा.नुतन शर्मा
वरिष्ठ प्रसूति तथा स्त्री रोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ
गर्भ रहेदेखि सुत्केरी नहुँदासम्मको समय सबैका लागि संवेदशील हुन्छ। त्यो बेलामा सामान्य गल्ती गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ। त्यसैले गर्भ रहेको थाहा हुनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ। अप्ठ्यारो अवस्थामा रहेका गर्भवतीले त अझै होसियारी अपनाउन पर्छ। सामान्यतया गर्भवतीले गर्न नहुने केही काम यस प्रकार छन्।
लामो यात्रा गर्न हुँदैन
गर्भवतीले लामो यात्रा गर्न हुँदैन। लामो यात्रा गर्दा गाडीले हल्लाउने अनि असर पार्ने हुनसक्छ। अर्को कुरा लामो यात्रा गर्दा रगत बग्ने, पानी फुट्ने या अन्य कुनै अप्ठ्यारो भयो भने मेडिकल सेवा उपलब्ध नहुन सक्छ। त्यसैले सकेसम्म हवाई यात्रा गर्ने या छोटो दुरीमा मात्र यात्रा गर्नुपर्छ। सामान्य अवस्थामा रहेका गर्भवती छोटो दुरीका लागि मोटरसाइकल/स्कुटर चलाउने अथवा यसमा यात्रा गर्दा केही हुँदैन। आफ्नो काममा जाने/आउने गर्दा सवारी साधनको प्रयोग गर्न सकिन्छ।
जथाभावी औषधी खान हुँदैन
गर्भावस्थामा चिकित्सकको सुझावबिना औषधी खान हुँदैन। किनकि कुन औषधीले कस्तो हानि गर्छ भन्ने थाहा हुँदैन। प्यारासिटोमल, डाइजिन लगायतका सामान्य औषधी खान मिल्छ तर अन्य खालका औषधी लिन पर्यो भने चिकित्सकको सुझाव अनुसार लिनुपर्छ। सकेसम्म सबै खालको औषधी चिकित्सकको सल्लाहमा लिएको राम्रो हो। मेडिकलमा गए सिधै औषधी कहिले पनि लिन हुँदैन। एक त सामान्य व्यक्तिले समेत मेडिकलमा गएर औषधी लिन हुँदैन भने गर्भवतीले त झनै हुँदैन।
भारी काम गर्न हुँदैन
भारी कामको परिभाषा के भन्ने हुन्छ। कुचो धेरै लगाउने, लामो समयसम्म हिँड्ने, धेरै वजन उचाल्ने भर्याङबाट तलमाथि धेरै गर्न हुँदैन। गर्भपतन हुने, समयभन्दा चाँडो डेलिभरी हुने भइसकेको छ भने अझै होसियारी अपनाउन पर्छ। घरको सामान्य काम गर्ने अनि अफिसको काम गर्न मिल्छ। गर्भवतीले ८/१० किलोभन्दा धेरै तौलको सामान उचाल्न हुँदैन। पानीको भाडा लगायत सामान उचाल्न हुँदैन।
मेवा खान हुँदैन
गर्भवतीले सबै खालका फलफूल खान मिल्छ। उच्च प्रोटिन भएका खाना र सन्तुलित खाना खान मिल्छ। मेवा भने खान मिल्दैन। किनकि मेवाले गर्भपतन गराउने खतरा रहन्छ।
चुरोट रक्सी खान हुँदैन
गर्भावस्थामा निषेध गर्नुपर्ने चुरोट हो। चुरोटले गर्दा बच्चाको वृद्धि विकास कम हुनेदेखि अन्य खालका धेरै समस्या देखिन्छन्। रक्सी पनि खान हुँदैन। अन्य खालका कुनै लत छन् भने पनि छोड्नुपर्छ।
शारीरिक सम्पर्क गर्नु हुँदैन
सुरूआती तीन महिना र अन्तिमको तीन महिनामा शरीरिक सम्पर्क गर्नु हुँदैन। सुरूआती तीन महिनामा शारीरिक सम्पर्क गरेमा गर्भपतन हुने सम्भावना धेरै हुन्छ। अन्तिमको तीन महिनामा पनि पानी फुट्ने, संक्रमण हुने अनि समयभन्दा अगाडि डेलिभरी हुने हुन्छ। बीचको तीन महिना सावधानी अपनाएर शारीरिक सम्पर्क राख्न मिल्छ। तर सकेसम्म गर्भावस्थामा शारीरिक सम्पर्क नराखेकै राम्रो हो।
लामो समय भोको बस्न मिल्दैन
गर्भावस्थामा ब्रत बस्न हुँदैन। लामो समयसम्म खाना खाएन भने रिंगटा लाग्ने, गाह्रो हुने लगायतका समस्या हुन्छ। ४ देखि ६ घण्टाको बीचमा खानुपर्छ। अलि अलि खाइरहने तर धेरै पटक खानुपर्छ।
आवश्यकताअनुसार अल्ट्रासाउण्ड गर्दा केही हुन्न
कतिपयलाई यस्तो लाग्छ कि भिडिओ एक्स-रे धेरै गर्नु हुँदैन। यो एउटा भ्रम हो। किनकि यसले गर्भवतीलाई कुनै हानि गर्दैन। भिडिओ एक्स-रेबाट बच्चाको तौल, उसको वृद्धि विकास सबै थाहा हुन्छ। त्यसैले कम्तीमा पनि ४ पटक त भिडिओ एक्स-रे गर्नैपर्छ। गर्भवतीलाई कुनै शंका लागेमा जतिबेला पनि अल्ट्रासाउण्ड गर्न मिल्छ। ३०/३२ हप्ता पुगेपछि ६/८ घण्टासम्म बच्चा चलेन भने गुलियो खाने, कोल्टे परेर सुत्नुपर्छ। यति गर्दा पनि बच्चा चलेजस्तो लागेन भने तत्कालै अल्ट्रासउण्ड गर्नैपर्छ।
उच्च जोखिममा रहेका, दीर्घ रोग भएका, पहिला नै गर्भपतन भएका बिरामीले अझै ख्याल गर्न जरूरी छ। उनीहरूले चिकित्सकको सुझावबिना कुनै पनि गतिविधि गर्न हुँदैन। चिकित्सकले भने अनुसार खाने, आराम गर्ने अनि अन्य औषधी लिने गर्नुपर्छ। उनीहरूलाई चिकित्सकको निगरानी जरूरी पर्छ।
(वरिष्ठ प्रसूति तथा स्त्री रोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा बि एण्ड बि हस्पिटलमा कार्यरत छन्।)
