देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल/धुम्म) भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला (शनिबार बिहान ८:३० बजे) उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ। यसको अर्थ आकाशमा कतै बाक्लो बादल त कतै पातलो बादल लागिरहेको छ।
‘उपत्यकामा बिहान हुस्सु पनि लागेको थियो’, मौसमविद् महर्जनले भनिन्, ‘आज दिनभर मौसम खुल्ने सम्भावना कम छ।’
उनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना पनि छ।
‘अपराह्नतिर क्षणिक र हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्, ‘तर सम्भावना अलि कम नै छ, भोलि (आइतबार) लाई भने उपत्यकामा वर्षाको सम्भावना अलि बढी देखिन्छ।’
