• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको पुनरागमनले मक्ख छिन् शेख हसिना, बढ्ला युनुस सरकारको अप्ठ्यारा ?


  • धनकुटा खबर
  • .

ढाका । अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प ४७ औँ राष्ट्रपति बन्न लागेका छन् । यो जितमा ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ । राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले कतिपय देशमा असहजता बढाएको छ भने कतिपय देश खुसी देखिएका छन् ।

प्रसङ्ग बंगलादेशको हो, जहाँ गत अगस्ट महिनामा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुपरेको थियो । हिंसात्मक आन्दोलनपछि बंगलादेशमा अन्तरिम सरकार गठन भयो र नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई यस सरकारको प्रमुख सल्लाहकार नियुक्त गरियो । एक हिसाबले उनी यो सरकारको प्रमुख हुन् । मोहम्मद युनुसलाई अमेरिकाको वर्तमान नेतृत्व अर्थात् जो बाइडेन प्रशासनको विशेष व्यक्ति मानिन्छ ।

उनलाई यो भूमिकामा ल्याउनमा बाइडेन प्रशासन र डेमोक्रेटहरूको महत्त्वपूर्ण भूमिका रहेको विश्वास गरिन्छ । यस्तोमा अमेरिकाको सत्ता परिवर्तनले बंगलादेशको राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिएको छ । के ट्रम्पको कार्यकालमा बंगलादेशले पहिलेजस्तो समर्थन प्राप्त गर्न सक्ला ? के अवामी लिगकी प्रमुख शेख हसिनाले गुमाएको राजनीतिक जग फिर्ता पाउन सक्लिन् ? अमेरिका र बंगलादेशको सम्बन्ध कुन दिशामा जाला ? यी प्रश्नप्रति धेरैको चासो छ ।

ट्रम्पको जितमा के भनिन् शेख हसिनाले ?

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको जितपछि शेख हसिनाले अवामी लिगको आधिकारिक एक्स ह्यान्डलबाट बधाई दिएकी थिइन् । यस पोस्टमा उनले डोनाल्ड ट्रम्पसँग आफ्नो तस्बिर पनि शेयर गरेकी थिइन् । क्याप्शनमा ‘डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बंगलादेश अवामी लिगकी अध्यक्ष शेख हसिनाको बधाई’ लेखिएको थियो । ट्रम्पको शानदार चुनावी जित उनको नेतृत्व र अमेरिकी जनताको उनीमाथिको विश्वासको प्रमाण भएको पनि हसिनाले लेखेकी छन् ।

आफू प्रधानमन्त्री रहँदा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पसँग गरेको भेट र कुराकानीलाई पनि हसिनाले धेरै खुसीसाथ सम्झेकी थिइन् । ट्रम्पको दोस्रो कार्यकालमा बंगलादेश र अमेरिकाबिचको मैत्रीपूर्ण र द्विपक्षीय सम्बन्ध थप मजबुत हुने आशा पनि उनले राखेकी थिइन् । दुवै देशको द्विपक्षीय र बहुपक्षीय हितलाई अगाडि बढाउन पुनः सँगै काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । साथै हसिनाले नवनिर्वाचित राष्ट्रपति र उनको परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना समेत गरेकी छन् ।

ट्रम्पको आगमनले बढ्ला समस्या ?

सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । त्यतिबेला बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले दुःख व्यक्त गर्दै ट्रम्पको विजयलाई सूर्यग्रहण र कालो दिन जस्तै भएको बताएका थिए ।

उक्त निर्वाचन गलत राजनीतिको सिकार भएको युनुसले बताएका थिए । ट्रम्पलाई सल्लाह दिँदै उनले पर्खालको सट्टा पुल निर्माण गरेर थप उदारवादी दृष्टिकोण अपनाउन भनेका थिए ।

मोहम्मद युनुसलाई अमेरिकामा डेमोक्रेटसँग नजिक रहेको ठानिएको छ । ‘जब बंगलादेशमा सत्ता परिवर्तन भयो र मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाइयो, त्यतिबेला उनी डेमोक्रेट, बाइडेन प्रशासन र हिलारी क्लिन्टनसँग मिलेर काम गरिरहेका थिए । उनलाई यो भूमिकामा ल्याउनमा अमेरिकाको महत्त्वपूर्ण भूमिका छ,’ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका साउथ एसियन स्टडीजका प्रोफेसर सञ्जय भारद्वाजले बीबीसी हिन्दीलाई भनेका छन् ।

नयाँ भूमिकामा आएपछि युनुसको अमेरिका भ्रमणको पनि धेरै चर्चा भयो । सेप्टेम्बर २५ मा उनले क्लिन्टन ग्लोबल इनिसिएटिभ कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रममा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन पनि उपस्थित थिए । भारद्वाज भन्छन्, ‘अब अमेरिकामा सत्ता परिवर्तन भएको छ । डेमोक्रेटको सट्टा रिपब्लिकनको सरकार हुनेछ । यस्तो अवस्थामा, सबैभन्दा ठुलो प्रश्न यही उठ्छ कि ट्रम्पले बाइडेन प्रशासनको समयमा भएका नीतिहरूलाई निरन्तरता देलान् कि त्यसमा केही परिवर्तन गर्लान् ?’

‘पहिले अमेरिकाले भारतको दृष्टिकोणलाई ध्यानमा राखेर दक्षिण एसियालाई एक एकाइको रूपमा हेर्थ्यो, तर जो बाइडेन प्रशासनले बंगलादेशलाई स्वतन्त्र एकाइको रूपमा हेर्‍यो । यसको असर बंगलादेशमा सरकार परिवर्तन भयो,’ भारद्वाज भन्छन् ।

बंगलादेशमा मानवअधिकार र निर्वाचनलाई लिएर यसअघि पनि प्रश्न उठेका थिए, तर बाइडेनको पालामा यी विषयमा बढी कडाइ भयो र शेख हसिनासँग उनको राम्रो सम्बन्ध नभएको पनि उनले बताए ।

के सोचिरहेका छन् बंगलादेशीहरू

शेख हसिना र डोनाल्ड ट्रम्पको कार्यकालमा यूएस–बंगलादेश सम्बन्धमा कुनै तनाव नभएको बंगलादेशको बंगाली भाषाको दैनिक पत्रिका प्रथम आलोका राजनीतिक सम्पादक कादिल कल्लोल भन्छन् । बंगलादेशमा त्यतिबेलाको निर्वाचन प्रक्रियाबारे धेरैले प्रश्न उठाए पनि ट्रम्प प्रशासनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने अपिलबाहेक आधिकारिक रूपमा केही नभनेको बीबीसीसँग कुरा गर्दै उनले बताए ।

दुई देशबिच व्यापार र वार्ता जारी रहेको पनि कल्लोल बताउँछन् । ‘हामीले यो पनि याद गर्नुपर्छ कि हालै मोहम्मद युनुस अमेरिका गएका थिए र उनले जो बाइडेनलाई भेटेका थिए । उनले धेरै सम्मान पाएका थिए,’ कोल्लोल भन्छन् ।

यी सबै घटनाक्रम हेर्दा अब के हुने हो भन्ने जिज्ञासा सबैमा छ । ‘डोनाल्ड ट्रम्पको उपमहाद्वीपलाई हेर्ने दृष्टिकोण फरक छ किनभने उनी नरेन्द्र मोदीसँग धेरै नजिक छन्,’ बीबीसीसँग कुरा गर्दै एनटीभी बंगलादेशका वरिष्ठ टिभी पत्रकार वर्षाेन कबीरले भनेका छन् ।

‘अब ट्रम्प सत्तामा फर्किंदैछन् भन्ने थाहा भइसकेपछि बंगलादेशका जनतामा यसबारे मिश्रित भावना छन्, तर युनुसको नेतृत्वमा रहेको वर्तमान सरकारको अमेरिकासँग निकै राम्रो सम्बन्ध छ, किनभने युनुसको क्लिन्टन परिवारसँग व्यक्तिगत सम्बन्ध छ । यो कुरा उनकै सेक्रेटरीले भनेका हुन्,’ उनी भन्छन् ।

भारत र बंगलादेश ऐतिहासिक रूपमा असल छिमेकी भएकाले ट्रम्प राष्ट्रपति बन्नुले आम जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने र आफूरू सबैले यही आशा गरेका पनि कबीरले बताए ।

यो बंगलादेशका लागि कुनै चिन्ताजनक कुरा नभएको तर अब स्थिति कसरी अगाडि बढ्ला भनेर सबैलाई आउँदो केही महिनाको व्यग्र प्रतीक्षा भने रहने उनको भनाइ छ । कबीर भन्छन्, ‘अन्ततः अमेरिकाको विदेश नीति उनी रहनेछ । तसर्थ ट्रम्प राष्ट्रपति बन्नुले भारत–बंगलादेश सम्बन्धमा खासै नोक्सान हुँदैन भन्ने आशा गर्न सकिन्छ तर अवामी लिग अहिले के सोचिरहेको छ, कसैलाई थाहा छैन ।’

बंगलादेशका हिन्दुबारे ट्रम्पको भनाइ

दीपावली सन्देशमा ट्रम्पले आफ्नो बंगलादेशी हिन्दु र प्रधानमन्त्री नरेन्द्र मोदीबारे बयान पोस्ट गरेका थिए । यसले सामाजिक सञ्जालमा बहस नै छेडिएको थियो । पोष्टमा उनले लेखेका थिए, ‘बंगलादेशमा हिन्दु, इसाई र अन्य अल्पसंख्यकमाथि भएको बर्बर हिंसाको म कडा शब्दमा निन्दा गर्दछु । भिड उनीहरूमाथि आक्रमण गरिरहेको छ, लुटपाट गरिरहेको छ, जुन पूर्ण अराजकताको अवस्था हो ।’

आफ्नो कार्यकालमा यस्तो कहिल्यै नभएको तर कमला र जो बाइडेनले अमेरिकासहित विश्वभरका हिन्दुहरूलाई बेवास्ता गरेको उनले सो पोष्टमा लेखेका थिए । इजरायलदेखि युक्रेनसम्म अनि आफ्नै देशको दक्षिणी सिमानासम्म यी दुईले विनाश मच्चाएका भन्दै आफूले अमेरिकालाई फेरि बलियो बनाउने अनि र बल नै प्रयोग गरेर भए पनि शान्ति फिर्ता ल्याउने ट्रम्पले लेखेका थिए ।

कट्टरपन्थी वामपन्थीका धर्मविरोधी एजेन्डाबाट हिन्दु अमेरिकीहरूको रक्षा गर्ने पनि ट्रम्पले बताएका थिए । बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अत्याचारबारे बोल्ने ट्रम्प अमेरिकाका पहिलो ठुला राजनीतिज्ञ थिए । यस मामिलामा उपराष्ट्रपति एवं राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस मौन बसेकी थिइन् ।

त्यसबेला रक्षा विज्ञ ब्रह्मा चेल्लानीले ट्रम्पले जिते भने बाइडेनको उक्साहटमा युनुसको खेल अन्त्य हुन सक्ने लेखेका थिए । मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका रिसर्च फेलो स्मृति एस पटनायक पनि यस्तै कुरा भन्छिन् । ट्रम्पले दीपावलीमा हिन्दुहरूबारे दिएको अभिव्यक्तिलाई बंगलादेशको अन्तरिम सरकारको आलोचनाका रूपमा लिइएको र जे भए पनि ट्रम्पसँग युनुसको सम्बन्ध राम्रो नभएको बीबीसीसँग कुरा गर्दै उनले बताएकी थिइन् ।

तर, केही विज्ञहरूले यसलाई चुनावसँग जोडेर ट्रम्पले चुनावमा हिन्दु र भारतीय मतदातालाई लोभ्याउन यस्तो अभिव्यक्ति दिएको दाबी गरेका थिए । ‘ट्रम्पको नेतृत्वमा अमेरिकाले बंगलादेशलाई कति सुरक्षा दिन सक्छ भन्ने सबैभन्दा ठुलो प्रश्न हो, किनभने बंगलादेशको सरकार अमेरिकाविना चल्न सक्दैन,’ सञ्जय भारद्वाज भन्छन् ।

होला त शेख हसिनाको पुनरागमन ?

बंगलादेश अहिले अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । शेख हसिनाले सत्ता छोडेपछि त्यहाँ अन्तरिम सरकार छ । ‘बंगलादेशमा अझै प्रजातन्त्र पुनर्स्थापित भएको छैन । नयाँ सरकार कहिले बन्ने हो अहिले कसैलाई थाहा छैन,’ सञ्जय भारद्वाज भन्छन् । बंगलादेशमा नयाँ सरकार चयन गर्न कहिले चुनाव हुन्छ भन्ने अहम् प्रश्न छ । गत महिना अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरलले आफ्नो वक्तव्यमा चुनाव हुने सङ्केत गरेका थिए ।

उनले अबको एक वर्षभित्र निर्वाचन हुनसक्ने तर त्यसका लागि निर्वाचनको दिशामा सुधार र राजनीतिक सहमति आवश्यक रहेको बताएका थिए । अब देशमा निर्वाचन आयोग बनेर मतदाता नामावली तयार गर्ने र यो काम सकिए अर्काे वर्षसम्ममा निर्वाचन हुन सक्ने नजरलको भनाइ थियो । उनले मुलुकमा निर्वाचन घोषणा गर्ने अधिकार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको हातमा रहेको पनि भनेका थिए ।

ट्रम्पले उनलाई बाइडेनको तुलनामा बढी समय नदिने भएकाले ट्रम्प आएपछि युनुसमाथि दबाब बढ्ने स्मृति एस पटनायक बताउँछिन् । उनी भन्छिन्, ‘ट्रम्पले मोहम्मद युनुसलाई बंगलादेशमा जतिसक्दो चाँडो चुनाव गराउन आग्रह गर्नेछन् र दोस्रो, अब अवामी लिगले चुनावमा भाग लिने सम्भावना बढेको छ ।’

शेख हसिनाको पार्टीले आफ्नो हराएको राजनीतिक जग फिर्ता लिन मद्दत मिल्ने पनि उनको धारणा छ । शेख हसिनाको नेतृत्वमा होस् वा उनको नेतृत्वविना बंगलादेशमा अवामी लिग फर्किएर आउने सञ्जय भारद्वाज भन्छन् । अवामी लिगका धेरै उदार प्रजातन्त्रवादीहरू शेख हसिनालाई मन पराउँदैनन् । तर अवामी जनताले बंगलादेशमा आफूले चाहेको राजनीतिक स्थान पाउनेमा आशावादी भएको उनी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖