• Wednesday 7th of October 2026

‘पूर्णबहादुरको सारङ्गी’ को कथा आफ्नो उपन्याससँग मिलेको लेखक बस्यालको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौँ । लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा आक्रामक व्यवसाय गरिरहेको छ । शो पाउने मामलामा ऐतिहासिक कीर्तिमान रच्न सफल फिल्मको बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शो को टिकटको हाहाकार छ ।

फिल्मको कथा र कलाकारको अभिनयले दर्शकलाई रुवाइरहेको छ । फिल्म सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा समेत उनकै हो । निर्देशक पौडेलले फिल्मको कथा आफ्नो बुबा निधन भएपछि महसुस भएको विषय बताउँदै आएका छन् ।

फिल्मले राम्रो व्यवसाय गरिरहँदा फिल्मको कथा र विषय बस्तुलाई कपी गरिएको आरोप लागेको छ । उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका छन् । बस्यालले फिल्म हेरिसकेपछि शनिवार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका छन् । उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको देखिन्छ ।

फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै ‘सङ्ग्रामपुर’ मा रूपमान र समीर, ‘सङ्ग्रामपुर’ मा स्त्री बिछोडको प्रसङ्ग फिल्ममा पनि हुनु, उपन्यासको समीरजस्तै कमल पनि टप विद्यार्थी हुनु, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता फिल्मको कथाका मूल प्रसङ्गहरू उपन्याससँग मिलेको लेखक बस्यालको दाबी रहेको छ । उनले माथिका बाहेक उपन्यासका अन्य प्रसङ्ग र प्रभाव समेत फिल्ममा देख्न सकिने बताएका छन् ।

‘पूर्णबहादुरको सारङ्गी’ ले छोराका लागि बाबुले देखेको सपनाको कथा भन्छ । फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन् । फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको समेत अभिनय छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖