अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशसामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको दुबई क्रिकेट रंगशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगरले २९ रन बनाउँदा अभिषेक तिवारी २९ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बंगलादेशका बलरले १७ रन अतिरिक्त दिएका थिए ।
नेपाललाई सस्तैमा समेट्न अल फहाद, रिजन होसेन र एक्वाल होसेनले समान २ विकेट लिए । साद इस्लाम, मोहमद रफी उज्मान र अजिजुल हाकिमको नाममा समान एक-एक विकेट रह्यो ।
एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो भने बंगलादेशले अफगानिस्तानलाई हराएको थियो ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर एसियाकपका लागि छनोट भएका हुन्। गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन्।
