• Tuesday 6th of October 2026

२० बर्ष पछि ‘नो इन्ट्री’ को सिक्वेल, पुराना कलाकार कोही नहुने


  • धनकुटा खबर
  • .

मुम्बई, १० पुस । ‘नो एन्ट्री २’ बलिउडको बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । 
 
यसको घोषणा भएदेखि नै फ्यानहरू यसको प्रतिक्षामा छन् । लामो समयदेखि यो फिल्मको कलाकारलाई लिएर चर्चामा छ । मौलिक फिल्म अर्थात ‘नो एन्ट्री’मा सलमान खान, अनिल कपूर, फरदीन खान, लारा दत्त, ईशा देओल, बिपाशा बसु र सेलिना जेटलीजस्ता सुन्दरीहरु थिए ।
 
तर सिक्वेल भने दिलजीत दोसांझ, वरुण धवन र अर्जुन कपुरको अभिनय रहने पक्का भएको छ । यस पुराना कलाकार नराखी, नयाँ कलाकार राख्ने भएपछि फ्यानहरू अलिकति निराश भएका छन् तर बोनी कपूरले किन मूल कास्टलाई सिक्वेलमा राखेनन् भन्ने खुलासा गरेका छन्।
 
बोनी कपूरले न्युज १८ लाई दिएको अन्तर्वार्तामा नो इन्ट्री २ को बारेमा अपडेट दिए । उनका अनुसार  फिल्मको सुटिङ यही जुन २०२५ मा सुरु हुनेछ । बोनी कपूरले पनि यो मूल फिल्मभन्दा राम्रो हुने दाबी गरेका छन् ।
 
बोनी कपुरले भने, ‘दुर्भाग्यवश हामी एउटै स्टार कास्टलाई दोहोर्याउन सक्दैनौं । मैले लामो समय पर्खें तर सबैका आ–आफ्नै कारण छन् र म ती कारणहरूलाई सम्मान गर्छु। त्यसैले अहिले सबै कलाकार यसमा ताजा हुनेछन् ।’
 
‘नो एन्ट्री २’ को सुटिङ र रिलिज मितिबारे बोनी कपूरले भने, ‘छिट्टै छायांकन सुरु हुनेछ, सायद सोचेभन्दा चाँडो। हामीले रिलिज मिति पनि फाइनल गरिसकेका छौं, यो २६ अक्टोबर २०२५ दिपावलीमा रिलिज हुनेछ। जुन वा जुलाईबाट छायांकन सुरु हुनेछ ।’
 
बोनी कपूरले अगाडी भने, ‘यो यस्तो फिल्म हो, जसमा धेरै क्षमता छ । वास्तवमा, ‘नो इन्ट्री २’ को विषयवस्तु सुनेकाहरूलाई पहिलो नो इन्ट्री भन्दा राम्रो लाग्छ। यसमा सबै तत्वहरू हुनेछन्।’
 
‘नो एन्ट्री’ सन् २००५ मा रिलिज भएको थियो र यसलाई अनीस बज्मीले निर्देशन गरेका थिए। यो तमिल फिल्म ‘चार्ली च्याप्लिन’ को आधिकारिक रिमेक थियो। र यो  ‘नो एन्ट्री’ सन् २००५ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖