• Monday 5th of October 2026

पुजाको कप्तानीमा यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । मलेसियामा यही जनवरी १८ देखि सुरु हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू-१९ महिला एसिया कप खेलेको टोलीलाई नै विश्वकपको टोलीमा निरन्तरता दिइएको छ । उपकप्तानमा सोनी पाख्रिन छन् ।

गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यू-१९ महिला विश्वकपकमा छनोट भएको थियो । त्यसपछि नपालले यू-१९ महिला एसिया कप समेत खेल्न पाएको थियो जहाँ नेपालले पाकिस्तानलाई हराएको थियो ।

यूएईमा विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय भने अहिले टिममा छैनन् । उनी एसिया कपमा पनि टिममा थिइनन् । विश्वकप छनोट नखेलेका किरण कुमारी कुँवर र अनु कडायत भने विश्वकप खेल्ने टिममा अटाएका छन् ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो भने नेपालले पहिलो पटक खेल्न लागेको हो ।

नेपाल समूह डी मा छ । यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपाल जस्तै स्कटल्याण्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो ।

नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।

चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप ३ खेल खेल्ने अवसर पाउन सक्छ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖