एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्।
बुधबार सम्पन्न महाकुम्भ मेलामा उनले निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट आध्यात्मिक दीक्षा (गुरु मन्त्र) लिएकी हुन्।
गुरु गिरीले अनुष्ठानपछि उनलाई “कमला” नाम दिएका छन् र उनको गोत्र “अच्युतम” राखिएको छ। दीक्षा ग्रहणका क्रममा गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र दिँदै उनलाई आशीर्वाद प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
लरेन पावेल जब्सको यो कदमले आध्यात्मिकता र सनातन धर्मप्रति उनको आस्था झल्काउँछ। सनातन धर्मको यस प्रकारको स्वीकारोक्तिले पश्चिमी जगतमा पनि यसको आकर्षण र प्रभावलाई देखाउँछ।
