• Tuesday 6th of October 2026

भ्वाइसको स्टेजमा खेम सेन्चुरीको बहार, लोकसंगीत समेटिँदा दर्शकमा उत्साह


  • धनकुटा खबर
  • .

काठमाडौं । जुन दिनदेखि ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ मा कोचको नाम सार्वजनिक भयो, त्यही बेलादेखि सामाजिक संजालको टाइमलाइनमा बेग्लै उत्साह थियो । किनभने, दर्शकीय विविधता र रुचिलाई ख्याल राख्दै हिमालय टिभीले कोचको नाम सार्वजनिक गरेको थियो ।

राजु लामाको पुनरागमन होस् या खेम सेन्चुरीको डेब्यु, उदय सोताङ र मेलिना राईको निरन्तरताले दर्शकमाझ भ्वाइसको नयाँ संस्करणलाई लिएर पर्खाइ थियो । विशेषगरि, कोचको रुपमा लोकगायन क्षेत्रका हस्ती सेन्चुरीको नाम सार्वजनिक भएदेखि नै दर्शकले उत्साहपूर्ण स्वागत गरिरहेका थिए ।

यो उत्साहको छटा शुक्रबार राती ८ बजेदेखि भ्वाइसको युट्युवस्थित कमेन्ट सेक्सन होस् या सामाजिक संजालमा स्पष्ट देखिएको छ । लोकसंगीत क्षेत्रका पहिलो कोचको रुपमा सेन्चुरीको यो सहभागिताले भ्वाइसमा दर्शकीय रुचिलाई स्पष्ट तुल्याउँछ । प्रसारण भएको ब्लाइन्ड अडिसनमा समेत सेन्चुरीको आभा छचल्कियो ।

ब्लाइन्ड अडिसनको पहिलो भागमा अर्का कोच सोताङले सेन्चुरीलाई इन्डोर्स गरे । उनले भने- नेपाली गीत संगीत जगतमा एउटा ठूलै हलचल लिएर प्रस्तुत भएका, मीठो गीत गाउने, मीठो आवाज भएका, मीठो स्वर भएका एक कलाकार, एउटा गायक, एउटा संगीतकार, जसको नाम खेम सेन्चुरी । उहाँका सयौं गीत लोकप्रिय छन् । मीठा छन् र दर्शकले धेरै रुचाएका छन् । यो चानचुने कुरा होइन । युट्युवमा गएर हेर्ने हो भनेपनि उहाँका गीतहरूका भ्यूज करोडभन्दा माथि छन् ।’

अनि सेन्चुरीले आफूबारे भनेका छन्- गीतसंगीत भनेको नि मनको बह पोख्ने उत्कृष्ट माध्यम पनि हो । जसले अरुलाई खुसी बनाउँछ, भलै गाउने मान्छे दुःखी नै किन नहोस् । त्यस्तो आवाजको पहिचान गर्न सक्ने र १६ जना उत्कृष्ट आवाजको संग्रह गर्न सक्ने । त्यसैले त म यहाँ कोच बनेर आएको छु ।’

सेन्चुरीलाई लिएर दर्शकमा ब्यापक उत्साह

शुक्रबार युट्युवमा स्ट्रिमिङ भएको छैटौं सिजनको ब्लाइन्ड अडिसनको पहिलो एपिसोडमा शनिबार बेलुकासम्म कूल ८ हजार २०० भन्दा धेरै कमेन्ट प्राप्त भएका छन् । जसमध्ये ८० प्रतिशत कमेन्ट कोच सेन्चुरीलाई लिएर छ । दर्शकले उनको सहभागितालाई लिएर उत्साह व्यक्त गरेका छन् ।

धेरैले पहिलो एपिसोडमा खेमले निर्वाह गरेको कोचको भूमिकाको प्रशंसा गरेका छन् । जीवन पन्त नामक एक प्रयोगकर्ता लेख्छन्- खेम सेन्चुरीको पहिलो निर्णायक यात्रा खुब मनप¥यो । लोकगीतमै रमाएको भएर होला, खेमजीले कस्तो गर्नुहोला भन्ने खुब चिन्ता थियो । अब त मन ढुक्क भयो । बधाई छ खेमजी ।’

रेखा नामक एक दर्शकले सबै कोच अब्बल भएपनि लोकदोहोरीले स्थान पाउँदा खुसी लागेको बताएकी छन् । राजेश बीके लेख्छन्- खेम दाई त्यो कुर्चीमा । आहा गर्वले छाती चौडा भयो । उत्तिकै क्षमता पनि रहेछ निर्णायकको भूमिकामा । यो हो नि लोकदोहोरीको पावर ।’

सुकपल देवान लेख्छन्- गीत निकै सुन्थेँ दोहोरी तर खेम सेन्चुरी मैले देखेको थिएन रहेछु । आज देखेँ खुसी लाग्यो । वास्तवमा हाम्रो मौलिक संस्कृति भाखा भनेको लोकसंगीत हो । भ्वाइसले स्थान दिएको पाइयो शुभकामना ।’ कतिपय दर्शकले छैटौं सिजनको विजेता सेन्चुरीकै टीमबाट भएको हेर्ने चाहना राखेका छन् ।’

दर्शकको स्वागत र स्नेहले कोचको रुपमा सेन्चुरीको भ्वाइस यात्रा निकै रोचक हुने अनुमान गर्न सकिन्छ । एकातिर, पहिलोपटक लोकगायन क्षेत्रको हस्तीलाई जजको रुपमा ल्याउनु र अर्कोतिर लोकसंगीत क्षेत्रलाई समेट्नुले भ्वाइस अफ नेपालको छैटौं सिजनमा दर्शकीय सहभागिता अझै बढ्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

‘दर्शकको रुचिअनुसारका कार्यक्रम ल्याउन हामी प्रतिबद्ध छौं । सोहीअनुसार दर्शकको रुचिलाई आत्मसात गर्दै हामीले यसपटक लोकसंगीत क्षेत्रका चर्चित व्यक्तित्व खेम सेन्चुरीलाई जजको रुपमा ल्याएका छौं’ हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले भने, ‘यसपटक लोकगायनलाई समेटेकोमा हामी खुसी छौं ।’

भ्वाइसको छैटौं सिजनको पहिलो एपिसोडलाई अहिलेसम्म १३ लाख पटक हेरिएको छ ।

करोड क्लबमा धेरै सुनिएको आवाज

सेन्चुरीले कम्पोज गरेका अधिकांश गीत करोड क्लबमा छन् । उनको पछिल्लो ब्लकबस्टर कम्पोज गीत ‘म त ढलेँ ढलेँ’लाई युट्युवमा मात्र ५ करोडभन्दा धेरै पटक हेरिएको छ । यो गीत अहिले पनि युट्युव चार्टको नेपालतर्फ शीर्षस्थानमा छ । भ्वाइसको प्रेसमिटमा पनि सेन्चुरीले यो गीत गाएका थिए ।

उनका हिट गीत नै दर्जनौं छन् । उखु गुलियो, नन्दनी, झ्यालमा पर्दा छ, कपालु कोरेर, हान्छु तिमीलाई लौरीले, सोचे झैं जिन्दगी रैनछ, जाम साईंली, ‘सुर्ती माड्दै माड्दै गयो जोवन ‘लरिलरिलै रुन्छु बरिलै, लगायत छन् । थुप्रै गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

२०६५/६६ सालदेखि सांगीतिक करिअर थालेका सेन्चुरीको पहिलो गीत ‘भन्छु आज साथी मात्र हौ’ हो । रुपन्देहीको रुद्रपुर १ मा जन्मिएका खेमले सानैदेखि हिन्दी गीत गाउँथे । एसएलसीपछि उनले लोकगीत गाउन थाले । राजु परियार, बिमाकुमारी दुरालाई पछ्याउँदै उनी करिअरमा अघि बढ्न थाले ।

सेन्चुरी यतिबेला लोकसंगीतका सबैभन्दा ब्यस्त नाम हुन् । उनी युट्युवमा नेपालमा सर्वाधिक धेरै स्ट्रिमिङ हुने गायक तथा संगीतकारमध्ये एक पर्छन् । स्पोटीफाईमा मासिकरुपमा उनलाई ४३ हजार ५०७ पटक सुनिन्छ । युट्युव र आइट्युन्समा पनि उनलाई पछ्याउनेको संख्या धेरै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖