• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

‘हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु’


  • धनकुटा खबर
  • .

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँगको युद्धमा अहिलेसम्म ४५ हजार १ सय युक्रेनी सैनिकको मृत्यु भइसकेको बताएका छन् ।

मंगलबार उनले ३ लाख ९० हजार सैनिक घाइते भएका पनि बताए। एक युट्युब अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्यका लागि आफू वार्ता गर्न पनि तयार भएको बताएका छन्।

जेलेन्स्कीले भने, ‘यो युक्रेनमा शान्ति ल्याउने एक मात्र उपाय हो भने हाम्रो देशले अवश्य अपनाउनेछ। यद्यपि वार्ताको टेबलमा म पुटिनप्रति धेरै निर्दयी हुनेछु। साँच्चै भन्ने हो भने म उसलाई शत्रु मान्छु।’

जेलेन्स्कीले तीन वर्ष बितिसक्दा पनि युद्धको मोर्चामा अझै द्वन्द्व चर्किरहेको बताएका छन् । २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धले तीन वर्ष पूरा गर्दै छ।

रुसका ३ लाख ५० हजार मानिस मारिएको दाबी

जेलेन्स्कीले उक्त अन्तर्वार्तामा आफू वार्ताको दिशामा अघि बढे यसमा अमेरिका र युरोपलाई पनि समावेश गर्नुपर्ने बताएका छन् । ‘हामी युक्रेनी भूमिहरूमा कुनै पनि रूसी कब्जालाई मान्यता दिने छैनौं,’ उनले भने, ‘रुसलाई हाम्रो माटोबाट धपाउन पश्चिमी देशबाट पर्याप्त समर्थन पाउन सकिएन।’

जेलेन्स्कीका अनुसार सन् २०२२ यता ३ लाख ५० हजार बढी रुसी मारिएका छन् भने ७ लाख घाइते वा बेपत्ता भएका छन् । तर, यी तथ्याङ्कको पुष्टि हुन भने सक्दैन ।
अर्कोतर्फ पुटिनले जेलेन्स्कीसँग कुरा गर्न अस्वीकार गरिसकेका खबरहरू पनि बाहिरिएका छन्।

जेलेन्स्कीले रुसमाथि लगाइएको प्रतिबन्ध हटाउन नचाहेको पनि उक्त अन्तर्वार्तामा खुलस्त पारे। भविष्यमा फेरि आक्रमणको जोखिम बढाउने भन्दै उनले आफ्नो टोली वाशिंगटनका शीर्ष युक्रेनी अधिकारी किथ केलोग र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग सम्पर्कमा रहेको जानकारी दिए ।

अमेरिकाले हालसम्म ६३ अर्ब डलर सहयोग गरिसकेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग दुई युद्धमा सहयोगको बदलामा ‘रेयर अर्थ मेटिरियल’ का लागि सम्झौता गर्ने कुरा यसअघि नै गरिसकेका छन्। ट्रम्पले भने, ‘अमेरिकाले युक्रेनलाई आफ्ना युरोपेली सहयोगीभन्दा बढी सैन्य र आर्थिक सहायता पठाइसकेको छ।’

युद्ध सुरु भएदेखि नै अमेरिकाले युक्रेनलाई करिब ६३ अर्ब डलर सहयोग गरिसकेको जनाएको छ । आफ्नो चुनावी अभियानमा पनि ट्रम्पले युक्रेन युद्ध एकै दिनमा अन्त्य गर्ने बताएका थिए । यद्यपि उनले त्यसयता युक्रेनबारे चासो भने देखाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖