एजेन्सी । महाकुम्भ मेलाको भागदौडमा मृत घोषित एक व्यक्ति १३ औँ दिनको पुण्य तिथिमा अचानक घर फर्किँदा स्थानीयहरू आश्चर्यमा परे ।
प्रयागराजको जिरो रोडस्थित चाँचन्द गल्लीका बासिन्दा खुन्ती गुरु २९ जनवरीमा महाकुम्भ मेलाको भागदौडपछि बेपत्ता भएका थिए । परिवार तथा छिमेकीहरूले उनलाई मृत ठानी अन्त्येष्टि तथा त्रयोदशीको कर्मकाण्ड समेत गरिसकेका थिए । तर, मङ्गलवार जब उनी घर फर्किए, सबै जना अचम्ममा परे ।
टाइम्स अफ इन्डियाका अनुसार, खुन्ती गुरु २८ जनवरीको साँझ स्नानका लागि त्रिवेणी सङ्गम जाने भन्दै घरबाट निस्किएका थिए । तर, महाकुम्भ मेलामा पुगेर साधुहरूसँग गाँजा सेवन गरेपछि उनी समय बिर्सिए र बेपत्ता भए ।
२९ जनवरीमा मेलामा ठूलो भागदौड मच्चिएपछि उनको अत्तोपत्तो नलागेपछि स्थानीयहरूले उनलाई मृत घोषित गरे । उनको खोजी धेरै दिनसम्म गरिए पनि केही पत्ता नलागेपछि अन्ततः त्रयोदशीको पूजा गरियो ।
तर, करिब दुई हप्ता पछि उनी सामान्य अवस्थामा घर आइपुगे । जब उनी ई-रिक्साबाट ओर्लिए, परिवार तथा छिमेकीहरू स्तब्ध भए । “तपाईँहरू के गर्दै हुनुहुन्छ?” भन्दै मुस्कुराउँदा स्थानीयहरू विश्वास नै गर्न सकेनन् । केही बेरमै यो शोकको माहौल उत्सवमा परिणत भयो ।
स्थानीय समाजसेवी अभय अवस्थाकी अनुसार, खुन्ती गुरुले आफ्नो जीवनको अधिकांश समय साधु-सन्तहरूसँग बिताएका छन् । उनी प्रसिद्ध कानुनी परामर्शदाता कान्हैयालाल मिश्रका छोरा भए पनि औपचारिक शिक्षा पूरा गर्न सकेनन् ।
हाल उनी परिवारको पुर्ख्यौली घरको अन्तिम अंश रहेको एउटा सानो कोठामा बस्छन् । छिमेकीहरूले उनलाई खाना र लुगा प्रदान गर्छन्, जबकि उनी गाउँभरि रमाइला कुराकानी गरेर मनोरञ्जन गराउने गर्छन् । आफ्नै ओछ्यान भए पनि उनी नजिकैको शिव मन्दिरको परिसरमा सुत्न रुचाउँछन् ।
२९ जनवरी २०२५ मा प्रयागराजको त्रिवेणी सङ्गममा स्नानका लागि आएका लाखौँ श्रद्धालुहरूको भीडमा मच्चिएको भागदौडमा परी कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए ।
