काठमाडौँ। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि लागेको आरोप र उजुरीका बारेमा प्रस्टीकरण दिँदै आफू यही आधारमा राजदूत पदमा भएको सिफारिस कुनै हालतमा फिर्ता नलिने अडान राखे ।
घटनाबारे उनले समितिमा सविस्तार सुनाउँदै पीडित भनिएकी महिलासँग ओशो तपोवनमा जाने क्रममा चिनजान भएको बताए।
‘निशा सुनार (कलाकार) मेरो बहिनी हो । म बहिनीको घरमा सेल्टर लिएर बसेको थिएँ। उनीसँग (पीडित महिला) तपोवन जाने क्रममा चिनजान भयो । त्यसक्रममा उनले मलाई तिम्रो बहिनीको घरमा लैजानु भनिन् । तर त्यहाँ झगडा भयो । त्यसपछि मैले उनलाई खोजे र उनको डेरा ललितपुरमा गर्याैँ। त्यसक्रममा सँगै बस्ने क्रममा पछि उहाँले नै अफर गरेर शारीरिक सम्बन्ध गरेको हुँ । टोखामा खाट, सिरक लिएर म र उहाँ २ वर्षसँगै बस्यौ । उहाँले नै बच्चा जन्माउने प्रस्ताव गर्नुभयो र शारीरिक सम्पर्क गर्यौँ, म डिभोर्सी थिएँ । टोखामा २ वर्षपछि बच्चा जन्माउन प्रस्ताव गर्नुभयो । किन भन्दा उहाँको १८ वर्षसम्म आफ्नो श्रीमानसँग भेट भएको थिएन । तर १८ वर्षपछि उहाँको श्रीमानको ग्रिनकार्ड बनेपछि मेरोतर्फबाट रहेको गर्भमा बच्चा लिएर उहाँ अमेरिका जानुभयो र उहाँ नै बच्चा जन्माउनुभयो। त्यसपछि मेरो बच्चा हेर्न पनि दिनुभएन । पछि मेरो खाट फिर्ता गर्नुस् भनेपछि मैले सासू ससुराको घरमा पुर्याइदिएँ । उनको बाबुआमाले मलाई दसैँको टीका लगाएर बिदा गर्नुभएको छ । अहिले उहाँ विदेशी नागरिकता लिएर बस्नुभएको छ। तर अहिले उहाँले मेरो राजदूतमा पनि भाँजो हाल्नुभएको छ । त्यो मेरो बच्चा (छोरी) खोसिन्छ भनेर उहाँ रुनुभएको हो । तर मलाई मेरो बच्चा चाहिन्छ,’उनले भने।
त्यसक्रममा सुनारले बोलेका ‘ल्याङ हान्ने’ लगायतका केही शब्दहरू अमर्यादित भएको भन्दै सभापति बोधनारायण श्रेष्ठले समितिको रेकर्डबाट हटाउन निर्देशन दिए।
