काठमाडौं । गायक कुमा सागरलाई गिज्याएको आरोपमा ३ जना कमेडियनविरुद्ध प्रहरीमा निवेदन परेको छ । कमेडियनहरू सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका हुन् ।
निवेदनमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले निवेदन दर्ता भएको बताए । ‘यो जाहेरी चाहिँ होइन । निवेदन हो’ उनले भने ।
विवादबारे दुबै पक्षलाई राखेर छलफल चलाइने प्रवक्ता बोहराले बताए । निवेदन दर्ता गर्न नेवारी समुदायका व्यक्तिहरू नाराबाजी गर्दै प्रहरी परिसरमा पुगेका थिए । उनीहरूले तीनजनाविरुद्ध कार्वाहीको माग गरेका छन् ।
